ए डिभिजन लिग : मछिन्द्र र थ्री स्टारको भिडन्त
काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको बार्हौ चरणको खेलहरु आज शनिबारबाट सुरु हुँदैछ । आज शनिबार बार्हौं चरणका दुई खेलहरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र च्यासलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
फ्रेन्ड्स र च्यासलका लागि यस खेल महत्वपूर्ण रहेको छ । दुबै टोलीलाई रेलिगेसनबाट जोगिन यस खेल जित्नैपर्ने दबाब छ ।
फ्रेन्ड्स ११ खेलमा ७ अंक जोडेर १२ औं स्थानमा रहेको छ । च्यासललाई हराएर फ्रेन्ड्स रेलिगेसनको दबाबबाट माथि निस्कन चाहन्छ ।
च्यासल ६ अंक जोडेर पुछारमा रहेको छ । यस खेलमा हार ब्यहोरेमा च्यासल रेलिगेसनमा पर्नेछ । त्यसैले च्यासल फ्रेन्ड्सलाई हराएर रेलिगेसनको डर कम गर्न चाहन्छ ।
यस्तै दोस्रो खेलमा च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र थ्री स्टारबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
मछिन्द्र ११ खेलमा २९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थ्री स्टारलाई हराएर मछिन्द्र अपराजित यात्रा कायम राख्न चाहन्छ ।
थ्री स्टार १८ अंक जोडेर चौंथो स्थानमा रहेको छ । थ्री स्टार मछिन्द्रलाई हराएर शीर्ष दुईमा उक्लन चाहन्छ ।













