काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको बार्हौ चरणको खेलहरु भोलि शनिबारबाट सुरु हुँदैछ । शनिबार बार्हौं चरणका दुई खेलहरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै दोस्रो खेलमा च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
लिगको १२ औं चरणको पूर्वसन्ध्यामा सबै क्लबका प्रशिक्षकले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।
खेल अघिको प्रि म्याच कन्फरेन्समा क्लबका प्रशिक्षकहरु के भन्छन् ?
मृगेन्द्र मिश्र : मुख्य प्रशिक्षक (फ्रेन्ड्स क्लब)
भोलिको खेल हाम्रो लागि एकदम महत्वपूर्ण छ । भोलिको खेल जित्यौं भने ८० प्रतिशत रेलिगेसनबाट जोगिने मौका हुन्छ । हामी भोलि जितकै लागि खेल्छौं । हार्यौं भने गार्हो छ । हार्नु हुँदैन । च्यासलका लागि पनि गर या मरको खेल हो । उनीहरु पनि जित्नका लागि खेल्छ ।
प्रवेश कटवाल : मुख्य प्रशिक्षक (मछिन्द्र फुटबल क्लब)
लिग जितिसकेका छौ । अब अपराजित रहने योजना छ । त्यहिँ अनुसार तयारी छ । हामी अपराजित रहदै लिग जित्न चाहन्छौ । लिग जितिसक्यौ अबको खेल हार्यौं भने नमज्जा हुन्छ । त्यहिँ कारण जित्नैपर्ने छ । दुई खेलका लागि राम्रो तयारी छ ।
युगल किशोर राई : मुख्य प्रशिक्षक (हिमालयन शेर्पा क्लब)
तयारी राम्रो नै भईरहेको छ । पछिल्लो दुई खेल इज्जतको सवाल छ । त्यसलाई सफल बनाउनु छ । के हुन्छ हेरौं फुटबल हो आँखा हुँदैन । हामी कोशिश गर्छौं ।
राजेन्द्र तामाङ : मुख्य प्रशिक्षक (मनाङ मर्स्याङ्दी क्लब)
एनआरटीसँग खेल छ । कठिन हुनेछ । किनकि एनआरटीले हिजो खेल जितेको छ । उनीहरुको १७ अंक छ हाम्रो २० छ । अब हेट टु हेडको कुरा आउछ । दोस्रो स्थानका लागि की जित्नु पर्छ की बराबरी गर्नु पर्छ ।
चोट बोकेको खेलाडी धेरै भयो । मुख्य खेलाडी कप्तान अन्जन दुई पहेलो कार्डले गर्दा खेल्दैन । त्यसैले टिममा अलिकति समस्या छ ।
रत्न काजी महर्जन : प्रशिक्षक (एपीएफ)
खुशीको कुरा अब हामीले स्वतन्त्र रुपमा खेल्न पायौं । रेलिगेसनबाट बचियो । एउटा खुट्किलो पार भो । अब हाम्रो लक्ष्य भनेको बाँकी दुई खेल जितेर राम्रो अंकसहित लिग टुंगाउने हो ।
पुलिस राम्रो टिम हो । अहिले उनीहरुको नतिजा आईरहेको छैन । समग्रमा हेर्ने हो भने सबै राम्रो छ । त्यसैले पुलिसलाई कमजोर आकेको छैन ।
नविन न्यौपाने : मुख्य प्रशिक्षक (त्रिभुवन आर्मी क्लब)
जुन प्रदर्शन गर्नु पर्ने हो त्यो आईरहेको छ । अहिलेको टिम हेर्दा थाहा हुन्छ । हामीले ७ खेल ड्र खेलेका छौँ । मछिन्द्रले उपाधि जितिसकेको छ । जसले एकनासको प्रदर्शन गर्छ उसले उपाधि जितेको छ । मछिन्द्रबाहेक अन्य टिमको प्रदर्शन कहिले राम्रो र कहिले झुर छ ।
अबको दुई खेलमा अंक लियौं भने हामी दोस्रो स्थानको दाबेदार हुन्छौं । त्यसलाई केन्द्रित गरेर अगाडी बढेका छौँ । मुख्य समस्या यस सिजन धेरै चोटले दिएको छ ।
राकेश लामा : प्रशिक्षक (एनआरटी)
हामी जित्नका लागि खेल्ने हो । जित्नकै लागि खेल्छौं । खेलपनि राम्रो भईरहेको छ ।
रविन्द्र सिलाकार : प्रशिक्षक (थ्री स्टार क्लब)
अहिलेसम्म हाम्रो तयारी राम्रो छ । हामीलाई आशा छ दुईवटा खेल जितेर हाम्रो दोस्रो स्थानसम्म पुग्छौं भन्नेछ । हाम्रो प्रदर्शनमा कुनै कमी आएको छैन ।