काठमाडौं । च्यासल युथ क्लबका गोलकिपर अर्पण कार्कीले सहिद स्मारक ए डिभिजन लिगको बाँकी खेलहरु गुमाउने भएका छन् ।
घुँडाको गम्भीर चोटको कारण अर्पणले लिगको बाँकी खेलहरु गुमाउने भएका हुन् ।
अर्पणले आफ्नो बायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको जानकारी गराए । अर्पणको चोटको शल्यक्रिया गर्नु पर्ने भएको छ ।
नेपाली यू-२३ टोलीका कप्तान अर्पणले मछिन्द्र क्लबविरुद्धको खेलमा चोट बोकेका थिए । जुन खेलमा मछिन्द्रले च्यासललाई २-० ले हराएको थियो ।

मछिन्द्रका विमल घर्तिमगरसँग जुध्न पुग्दा अर्पणले चोट बोकेका थिए । उनी १७ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
च्यासल यस सिजन रेलिगेसनको संघारमा रहेको छ । पुछारको च्यासलले ११ खेलमा ६ अंक जोडेको छ ।
अब च्यासलले १२ औं चरणमा फ्रेन्ड्स क्लबको सामना गर्नेछ । यस्तै अन्तिम चरणमा च्यासलले सातदोबाटो युथ क्लबसँग खेल्ने छन् ।
