काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ ।
बिहीबार भएको खेलमा मनाङ विभागीय टोली एपीएफ क्लबसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
एपीएफलाई जित दिलाउन आशिष लामा, मनि कुमार लामा र नविन लामाले एक एक गोल गरे ।
मनाङका अन्जन विष्टले एक गोल फर्काए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती एक गोलको अग्रता उल्टाएर एपीएफले जित निकालेको हो ।
खेलको ३६ औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।
गोलकिपर विशाल सुनारको लामो पासमा एपीएफका गोलकिपर युया कुरियामा अघि बढेको अवस्थामा अन्जनले हेडर मार्फत गोल गरे ।
तर, खेलको ४० औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई १-१ को बराबरीमा ल्याए ।
कप्तान नविन लामाको पासमा मनाङका डिफेन्डर नरेन्द्र चौधरीले क्लियर गर्न नसकेको बल अघि बढाउदै आशिषले सहजै गोल गरे ।
खेलको ८२ औं मिनेटमा मनिले गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए । कप्तान नविन लामाको पासमा उनले सहजै गोल गरेका हुन् ।
त्यसपछि खेलको ८७ औं मिनेटमा कप्तान नविनले गोल गर्दै एपीएफलाई ३-१ को जित दिलाए ।
आशिष लामाले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल मनाङका गोलकिपर विशालले रोकेपछि आएको रिबाउन्डमा उनले गोल गरेका हुन् ।
त्यसबाहेक दुबै टोलीले पाएको मौकामा चुकेका थिए ।
खेलको चौंथो मिनेटमा एपीएफका आशिष लामाले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट प्रहार गरेको बल पहिलो बारको नजिकबाट बाहिरिएको थियो ।
खेलको ३४ औं मिनेटमा नितिन थापाको पासमा एडिलाजा सोमिडेको सशक्त प्रहार एपीएफका गोलकिपर किरियामाले मुश्किलले बचाए ।
३९ औं मिनेटमा मनाङका विमल राना गोल गर्न चुके । कप्तान अन्जनको क्रसमा अनमार्क रहेका विमलको फ्रि हेडर सिधै एपीएफका गोलकिपरको हातमा गएको थियो ।
खेलको ७४ औं मिनेटमा मनाङका दिपक राईको प्रहार पोस्टको फ्रेममा पर्न सकेन ।
यस जितसँगै एपीएफलाई रेलिगेसनको डर सकिएको छ ।
एपीएफले ११ खेलमा १४ अंक जोडेको छ । एपीएफ आठौं स्थानमा उक्लिएको छ ।
मनाङले ११ खेलमा २० अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा कायम रहेको छ ।