काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको दोस्रो चरण विराटनगरमा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र विराटनगर महानगरपालिकाबीच बिहीबार लिगको दोस्रो चरण विराटनगरमा गर्ने सम्झौता भएको हो ।
एन्फा अध्यक्ष कर्मा छिरिङ र विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार विराटनगर महानगरपालिकाले लिगका शीर्ष ५ टिम तथा प्लयेयर अफ द म्याच विजेता खेलाडीलाई ४५ लाख रुपैया प्रदान गर्ने छ ।
दोस्रो चरणका खेलहरु विराटनगरको सहिद रंगशालामा हुनेछ ।
लिगको पहिलो चरण भने चैतमा चितवनमा हुनेछ ।
पहिलो चरणका लागि एन्फा र भरतपुर महानगरपालिकबीच सम्झौता भइसकेको छ ।
पहिलो चरणको खेलहरू नगरको ७ र १९ वडाको मैदानमा हुनेछ ।
महिला लिगमा ८ टिमको सहभागिता रहनेछ ।
लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ ।
धनगढी र ललितपुर उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताबाट राष्ट्रिय लिगका लागि छनोट भएको हो।
छनौटमा धनगढी च्याम्पियन बनेको थियो भने ललितपुर उपविजेता बनेको थियो ।