काठमाडौं । मछिन्द्र फुटबल क्लबले कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।
बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराउँदै मछिन्द्र दुई खेल अगाबै च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे ।
मछिन्द्रलाई लगातार दोस्रो पटक च्याम्पियन बनाएपछि मुख्य प्रशिक्षक प्रवेश कटवाल खुशी देखिए । उनले उपाधिको श्रेय खेलाडीलाई दिए ।
'पछिल्लो पटक ए डिभिजनमा प्रशिक्षकको रुपमा पहिलो थिए । यस पटक लगातार दोस्रो पटक प्रशिक्षकको रुपमा च्याम्पियन भए । यो भन्दा खुसीको ठाउ छैन,' उनले भने, 'खेलाडीलाई धन्यवाद दिन चाहन्छु । उनीहरुको प्रदर्शनले हो । यसको श्रेय उनीहरुलाई जान्छ । लगातार च्याम्पियन बनाई दिएको धन्यवाद दिन चाहन्छु ।'
यस्तै उनले योजना अनुसार खेल्दा सफल भएको बताए ।
'प्लान अनुसार खेल पूरा भयो । खेलाडी, म्यानेजमेन्ट टिम र स्पोंसर्को मेहनतले सफल भएको हो,' उनले थपे, 'सातदोबाटोले राम्रो प्रदर्शन गर्यो । तर, ९० मिनेटमा गोल गर्छौं लागेको थियो ।'
प्रशिक्षक प्रवेशले एएफसी कप छनोटका लागि टिममा केहि परिवर्तन हुने समेत बताए ।
'छनोटमा ग्रुप राउण्डमा पुग्छौं जस्तो लागेको छ । प्रदर्शन सुधार्नु पर्नेछ । हामी सक्षम छौँ । टिममा केहि परिवर्तन हुन्छ,' उनले भने ।
सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीले मछिन्द्रविरुद्ध टिमले राम्रो खेलेको बताए ।
'खेल सोचेको जस्तो भएको थियो । जित्नका लागि खेलेका थियौं तर, स्कोर भएन,' उनले भने, 'मछिन्द्र राम्रो टिम हो । मछिन्द्र जस्तो टिमविरुद्ध सफल भयौं र मौकामा गोल भएन ।'
यस्तै केसीले मछिन्द्रलाई भाग्यले साथ दिएको बताए ।
'दोस्रो हाफमा पहिलो हाफको जस्तो खेल खेल्न सकेनन् । मछिन्द्रलाई आज भाग्यले साथ दियो । अंक नआएपनि खेलबाट चित्त बुझेको छ,' उनले थपे ।