इलाम । इलामको माङसेबुङमा आयोजना गरिएको १२ औ संस्करणको पबित्रहाङमा कप खेलकुद प्रतियोगिताको उपाधिमा ए.पी.एफ.सी माङसेबुङ इलामले जितेको छ ।
माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेल मैदानमा मंगलबार भएको फाइनलमा माङसेबुङ गाउँपालिका खेलकुद बिकास समिति इलामलाई ४–२ गोल अन्तरले पराजित गर्दै ए.पी.एफ.सीले उपाधि जितेको हो ।
उपाधिसँगै ए.पी.एफ.सीले नगद पुरस्कार १ लाख ११ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपबिजेता बनेको माङसेबुङ गाउँपालिकाले नगद पुरस्कार ६६ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्रमा प्राप्त गर्यो ।

छिमेकी राष्ट्र भारतको सिक्किम र कलकताका खेलाडीहरुको बर्चस्व रहेको ए.पी.एफ.सीलाई उपाधि दिलाउन भारतीय खेलाडी सोनिया मारकले दुई तथा शिवानी शर्मा र सुस्मिता लेप्चाले एक एक गोल गरे । यता माङसेबुङ गाउँपालिकाका लागि भने शिला राईले दुई गोल फर्काइन् ।
शिवानीले खेलको १७ औं मिनेटमा गोल गर्दै ए.पी.एफ.सीलाई अग्रता दिलाएकी थिइन् । उनको फ्रिकिक प्रहार गोलमा परिणत भएको थियो । सोनियाले खेलको २३ औंैं मिनेटमा गोल गर्दै अग्रता दोव्वर बनाइन् । यसैगरि सोनियाले व्यक्तिगत दोस्रो गोल गर्दै ए.पी.एफ.सीको अग्रतालाई तेव्बर बनाइन् ।
४१ औं र ४९ औं मिनेटमा शिलाले गोल गर्दै अग्रता ३–२ मा झारिन् । तर खेलको ५६ औं मिनेटमा सुस्मिता लेप्चाले गोल गरेपछि ए.पी.एफ.सीले खेलमा ४–२ अन्तरको जित निकाल्दै उपाधि जित्न सफल रहयो ।
प्रतियोगिताको वेस्ट किपर ए.पी.एफ.सी की प्रशान्ति लवरा, वेस्ट डिफेन्डर ए.पी.एफ.सी कै प्रिया तामाङ, वेस्ट खेलाडी माङसेबुङ गाउँपालिका की शिला राई, सर्वाधिक गोल कर्ता ए.पी.एफ.सी की सुजुहाङमा लिम्बू र उदयमान खेलाडी माङसेबुङ गाउँपालिका की स्वस्तिका राई घोषित भइन् ।
किरात गुरुआमा पवित्रहाङमा लिङ्देनको ६६ औं जन्मोत्सव तथा किरात धर्मगुरु अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा माघ २४ गतेबाट सुरु भएको प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरका १० टिमको सहभागिता रहेको थियो ।