काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा बुधबार मछिन्द्र र सातदोबाटो भिड्दा त्यो धेरै अर्थमा विशेष खेल रहनेछ ।
यो खेलको सबैभन्दा ठूलो विशेषता के हो भने यसमा जित निकालेर मछिन्द्रले दोस्रो पल्ट लिग उपाधि निकाल्न सक्छ ।
अनि यसै क्रममा डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधिको रक्षा पनि गर्न सक्छ । मछिन्द्रलाई उपाधिका लागि ३ अंकको आवश्यकता रहेको छ ।
सातदोबाटोले पहिलो पल्ट माथिल्लो डिभिजनमा खेलिरहेको हुनाले यो दुई टिमबीचको पहिलो खेल पनि रहनेछ ।
सातदोबाटो बी डिभिजनका वर्तमान च्याम्पियन पनि हो । त्यस अर्थमा यो 'ए' र 'बी' डिभिजनका विजेताबीच दशरथ रंगशालामा हुने खेल पनि रहनेछ ।
शीर्ष स्थानको मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ । सातदोबाटो १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।