काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा सिटीले स्पोर्टिङ सिपीलाई ५-० गोल अन्तरले हराएको हो ।
लिस्बनमा सिटीलाई फराकिलो जित दिलाउन बेर्नार्डो सिल्भाले दुई गोल गरे ।
खेलको सातौं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
१७ औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीको अग्रता दोब्बर बन्यो ।

फिल फोडेनले ३२ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए ।
सिल्भाले ४४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ४-० को अग्रता बनायो।
त्यसपछि खेलको ५८ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ५-० को सहज जित दिलाए ।
यस जितसँगै सिटीले अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
स्पोर्टिङलाई भने दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्नु पर्ने भएको छ ।
सिटी र स्पोर्टिङबीचको दोस्रो लेग मार्च १६ मा इतिहाद स्टेडियममा हुनेछ ।
