काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ को १० औं चरणको सबैभन्दा ठूलो विशेषता रह्यो, फ्रेन्ड्सले रेलिगेसन क्षेत्र छाड्नु ।
फ्रेन्ड्स पाँचौं चरणको समाप्तीदेखि लिग अंक तालिकाको पुछारमा थियो । तर उसले यो चरणमा ब्रिगेड ब्वाइजमाथि जित रचेपछि १२ औं स्थानमा उक्लेको हो । लिगमा तीन चरणका खेल बाँकी रहेको बेला फ्रेन्ड्समाथि रेलिगेसन दबाब सकिएको छैन् ।
त्यही खेलमा पराजित भएपछि ब्रिगेड ब्वाइज भने १२ औं स्थानमा झरेको छ । ब्रिगेड ब्वाइज रेलिगेसन क्षेत्रमा परेको यो पहिलो पल्ट हो र यससँगै उसमाथि चर्को दबाब सिर्जना भएको छ । ब्रिगेड ब्वाइज लामो समय १२ औं स्थानमा रह्यो । पाँचौं चरणको समाप्तीमा यो टिम नवौं स्थानमा थियो ।
लिगमा राम्रो सुरुआत लिए पनि उसले यसलाई कायम राख्न सकेन् र एउटा टिम कसरी तल झर्न सक्छ, यो ब्रिगेड ब्वाइजले देखाएको छ । पहिलो चरण मात्र सकिंदा यो दोस्रो स्थानमा थियो, तेस्रो चरणको समाप्तीमा तेस्रो । तेस्रो चरण सकिंदा यो आठौंमा झरेको थियो, त्यसपछि उसको प्रदर्शन लगातार खराब रह्यो ।
च्यासल भने अंक तालिकाको पुछारमा छ र रेलिगेसनको दबाब सबैभन्दा बढी कसैमाथि छ भने त्यो यही टिम माथि हो । च्यासल पाँचौं चरणको समाप्तीमा पहिलो पल्ट रेलिगेसन क्षेत्रमा झरेको छ, त्यसपछि यो लगातार यही स्थानमा छ । ठ्याक्कै अन्तिम स्थानमा रहेको भने १० औं चरणको समाप्तीमा मात्र हो ।