काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ अब अन्तिम संघारतिर अग्रसर छ र यसै साता ११ औं चरणका खेल खेलिंदैछ ।
यो यस्तो चरण हुनेछ, जहाँ लिग उपाधिको छिनोफानो हुन सक्नेछ ।
डिफेन्डिङ च्याम्पियन मछिन्द्रले यस चरणमा सातदोबाटोको सामना गर्दैछ । यो ए डिभिजन च्याम्पियन र बी डिभिजन च्याम्पियनबीचको खेल हुनेछ ।
यसमा विजयी रहे, मछिन्द्रले दोस्रो पल्ट लिग उपाधि जित्नेछ । मछिन्द्रले जित बाहेक खेलका अन्य नतिजामा पनि उपाधि जित्न सक्नेछ, यदी दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दीले पनि त्यस्तै नतिजा आत्मसात गर्छ भने ।
मनाङले ११ औं चरणमा एपीएफको सामना गर्नेछ र उपाधि समीकरण लगभग उसको हातबाट बाहिरिसकेको छ ।
आफ्नो अन्तिम खेलमा मनाङ थ्री स्टारसँग बराबरीमा रोकिएपछि उसलाई ठूलो घाटा भएको हो ।
मछिन्द्रको १० औं चरणको समाप्तीमा २६ अंक छ भने मनाङको २० । यो छ अंकको दूरी हो ।
लिगमा १३ औं चरणको समाप्तीमा पनि मछिन्द्र र मनाङबीच समान अंक रहे पनि उपाधि छिनोफानो हेड टु हेडको आधारमा हुनेछ ।
त्यो भनेको मछिन्द्रले नै उपाधि जित्ने हो, किनभने उसले छैटौं चरणमा मनाङलाई पराजित गरेको थियो ।
यस्तोमा ११ औं चरणमा मछिन्द्रको हार र मनाङको जितले मात्र लिग उपाधिको समीकरणमा नवीनता थप्न सक्नेछ ।
तर मछिन्द्र आफै लयमा छ, किनभने उसले पाँच खेल लगातार जितेको छ, अनि पछिल्ला नौ खेलमा अपराजित छ ।