काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा नेपाल एपीएफ क्लब र संकटा क्लबले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार एपीएफ र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
खेलको ११ औं मिनेटमा संकटाका फोडे फोफानाको प्रहार एपीएफका विदेशी गोलकिपर युया कुरियामाले डाइभ हान्दै बचाए ।
खेलको ३५ औं मिनेटमा एपीएफका कप्तान नविन लामाको कर्नरमा अर्मान्ड बिडोमको फ्रि हेडर पोस्ट माथिबाट बाहिरिएको थियो ।
६० औं मिनेटमा एपीएफका गोलकिपर अगाडी बढेको अवस्थामा संकटाका रोमन लिम्बुले प्रहार गरेको फ्रि-किक बलले पोस्टको दिशा लिन सकेन ।
६१ औं मिनेटमा संकटाका उत्तम राईको प्रहारमा ओलुवासोगोको वान टच प्रहारले पोस्टको दिशा लिन सकेन ।
खेलको ६७ औं मिनेटमा संकटाका ओलुवासोगोको क्रसमा उत्तमको हेडर प्रहार एपीएफका गोलकिपर कुरियामाले उत्कृष्ट बचाउ गरे ।
७४ औं मिनेटमा एपीएफका आवाश लामिछानेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको सशक्त प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले मुश्किलले बचाए ।
खेलको ८० औं मिनेटमा संकटाका फोफानाले गोलको सुनौलो अवसर गुमाए । लक्ष्मण रुचालको कर्नरमा अनमार्क रहेका उनको प्रहार सिधै गोलकिपरको हातमा गएको थियो ।
८५ औं मिनेटमा एपीएफका नविन लामाको फ्रि-किक संकटाका गोलकिपर राजाबाबुले आफ्नो पन्जामा पारे ।
यस बराबरीसँगै एपीएफले १० खेल ११ अंक जोडेको छ । एपीएफ नवौं स्थानमा रहेको छ ।
संकटा १० खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
खेलमा एपीएफका गोलकिपर कुरियामा चुनिए ।