काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेको छ ।
आइतबार भएको खेलमा एनआरटी र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।
बराबरीपछि हिमालयनका मुख्य प्रशिक्षक युगल किशोर राई खुशी देखिए । एक अंकले टिमलाई राहत मिलेको बताए ।
'एक अंकले पनि राहत भएको छ । १२ अंक भएको भएपनि गणितीय हिसाबमा गार्हो छ,' उनले भने, 'उनीहरुले जुन अट्याकिङ फुटबल खेल्नु पर्ने थियो । त्यो खेलेन । त्यसले गर्दा पनि हामीलाई सहज भएको हो । म हाम्रो खेलाडी प्रदर्शनबाट खुशी छु ।'
एनआरटीका मुख्य प्रशिक्षक राजु काजी शाक्यले चोटको कारण सोचेअनुसार खेलाडीले खेल्न नसकेको बताए ।
'धेरै ग्याप भएकाले खेल सोचे अनुसार खेल्न सकेनौ । खेलाडीमा चोटका कारण टिम सेट हुन सकेन,' उनले भने, 'आजको खेलमा कुनै फ्रेममा समेत सर्ट हान्न सकेनौ ।'