काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेको छ ।
आइतबार भएको खेलमा एनआरटी र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले खेल अवधिभर गोलको अवसर निकाल्न सकेनन् ।
एनआरटीको तुलनामा हिमालयनले बल पोसेसनमा पकड जमाएको थियो । तर, गोल निकाल्न सकेन् ।
खेलको २५ औं मिनेटमा हिमालयनका कप्तान विश्वास श्रेष्ठको उत्कृष्ट फ्रि-किक एनआरटीका गोलकिपर अजित प्रजापतिले उत्कृष्ट बचाउ गरे ।
खेलको ५३ औं मिनेटमा हिमालयनका आशिष गुरुङले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बल एनआरटीका गोलकिपर अजितले नै बचाए ।
५८ औं मिनेटमा हिमालयनकै विशन गुरुङले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको बल अजितले सहजै रोके ।
यस्तै खेलको इन्जुरी समयमा हिमालयनका त्रिदेब गुरुङको प्रहार अजितले मुश्किलले बचाए ।
यस बराबरीसँगै एनआरटीले १० खेलमा १४ अंक जोडेको छ । एनआरटी लिगको सातौं स्थान रहेको छ ।
हिमालयन १० खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
खेलमा हिमालयनका आशिष गुरुङ प्लेयर अफ दि म्याच चुनिए ।
एनआरटीका सनम लिम्बु इमर्जिङ प्लेयर चुनिए ।