काठमाडौं । इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनलमा ब्राजिलियन क्लब पाल्मिरस अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।
चेल्सीलाई उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक एक गोल गरे ।
पाल्मिरसका राफेल भेइगाले एक गोल फर्काए ।

रोमान्चक बनेको खेलको ५४ औं मिनेटमा रोमेलु लुकाकुले हेडमार्फत गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ६४ औं मिनेटमा राफेल भेइगाले पेनाल्टीमा गोल गर्दै पाल्मिरसलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा चेल्सीका हाभर्ट्जले पेनाल्टीमा निर्णायक गोल गरे । उनले ११७ औं मिनेटमा गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।
यस्तै अतिरिक्त समयको इन्जुरी समयमा ग्रासियाले रातो कार्ड पाएपछि ब्राजिलियन क्लब १० खेलाडीमा समेटिएको थियो ।
चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो ।
क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस क्लब बनेको छ ।
