काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज आइतबार दुई खेलहरु हुँदैछ ।
लिगको दशौँ चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछन् ।
पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र हिमालयनबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
एनआरटी ९ खेलमा १३ अंक जोडेर लिगको सातौं स्थान रहेको छ । आज हिमालयनलाई हराएर एनआरटी शीर्ष पाँचमा उक्लन चाहन्छ ।
हिमालयन ९ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ । हिमालयन पनि एनआरटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
दशरथ रंगशालामै हुने दोस्रो खेलमा नेपाल एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र संकटाबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
एपीएफ ९ खेल १० अंक जोडेर नवौं स्थानमा रहेको छ । संकटालाई हराएर एपीएफ अंक तालिका सुधार गर्ने योजनामा रहेको छ ।
संकटा ९ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । आज संकटा एपीएफलाई स्तब्ध बनाउदै शीर्ष पाँच भित्र उक्लन चाहन्छ ।