काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको उपाधि नजिक पुगेको छ । शनिबार च्यासलविरुद्ध प्राप्त शानदार जित र उपाधि होडमा रहेको मनाङ र थ्री स्टारको बराबरीले मछिन्द्रलाई उपाधिको नजिक पुर्याएको हो ।
दिनको तेस्रो खेलमा उपाधि होडमा रहेको मनाङले थ्री स्टार क्लबसँग बराबरी खेलेसँगै त्यसको प्रत्यक्ष फाईदा मछिन्द्रलाई पुगेको हो । मछिन्द्रले लिगको तालिकामा स्पष्ट ६ अंकको अग्रता लिएको छ । लिगमा अब मात्र तीन चरणको खेल बाँकी छ । मछिन्द्रलाई एक जितले मात्र लिगको उपाधि च्याम्पियन बनाउनेछ ।
तालिकाको शीर्ष स्थानको मछिन्द्रले ९ खेलबाट २६ अंक जोडेको छ । उपाधि होडमा रहेको मनाङ २० अंक सहित दोस्रो र आर्मी १९ अंक सहित तेस्रो स्थानमा छ ।

शुक्रबार आर्मीले रेलिगेशनबाट बच्न संघर्षरत जावलाखेलसँग १–१ गोलको बराबरी खेल्यो । शनिबार मनाङ समेत थ्री स्टारसँग १–१ गोलको बराबरीमा रोकियो ।
सातौं चरणको खेलमा प्राप्त अग्रताले एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्ने पक्का गरेको मछिन्द्र लिगको उपाधि यात्रामा समेत नजिक देखिएको छ ।
एघारौं चरणमा सातदोबाटोलाई हराउन सकेको खण्डमा मछिन्द्रले दुई खेल अगावै लिग उपाधिमा कब्जा गर्न सक्नेछ ।