काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ र थ्री स्टारले १-१ गोलको बराबरी खेलेको हो ।
खेलमा सुरुआती अग्रता भने मनाङले बनाएको थियो ।
खेलको ६२ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान पसेका दयानन्द सिंहले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । कप्तान अन्जन विष्टको क्रसमा पुजन उपरकोटीको स्थानमा मैदान पसेका दयानन्दले हेडर मार्फत गोल गरे ।
तर, खेलको ७१ औं मिनेटमा ऋतिक खड्काले गोल गर्दै थ्री स्टारलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । घानिफोको पासमा उनले बक्स बाहिरबाट प्रहार गरेको बल पोस्टमा लाग्दै जाली चुमेको थियो ।
त्यसबाहेक दुबै टोलीले गोलको अन्य अवसर गुमाएका थिए । दोस्रो मिनेटमा मनाङका कप्तान अन्जन विष्टको फ्रि-किक थ्री स्टारका गोलकिपर प्रिसोले बचाए ।
सातौं मिनेटमा मनाङका रुपेश केसीको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
खेलको १६ औं मिनेटमा थ्री स्टारका घानिफा क्रोमाको प्रहार बाहिरिएको थियो।
खेलको ४१ औं मिनेटमा मनाङका आफिज ओलावालेले गोलको सुनौलो अवसर गुमाए । पुजन उपरकोटीको पासमा थ्री स्टारका गोलकिपर प्रिसोसँग वान भर्सेस वानको अवस्थामा उनले बाहिर प्रहार गरे ।
४८ औं मिनेटमा मनाङका आफिज पुन: गोल गर्न असफल भए । विमल रानाको पासमा उनको वान टच प्रहार आकाशिएको थियो ।
खेलको ७८ औं मिनेटमा दयानन्दको हेडर बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
यस बराबरीसँगै मनाङले १० खेलमा २० अंक जोडेको छ । मनाङ लिगको दोस्रो स्थानमा रहेको छ ।
थ्री स्टार १० खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।