काठमाडौं । नेपाली घरेलु फुटबलले पस्कने सक्ने माथिल्लो दर्जाको खेलको एउटा अर्को नाम हो, मनाङ मर्स्याङ्दीविरुद्ध थ्री स्टार ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शनिबार यिनै दुई भिड्दै छन् र अपेक्षा गर्न सकिन्छ, एक अर्को उत्कृष्ट खेल हेर्न पाइनेछ ।
यस अगाडिका लिगमा अधिकांस समय यी दुई टिम भिड्दा त्यसले उपाधिको निर्णय गरेको पाइन्छ । तर यसपल्ट यस्तो छैन् । मनाङ नौ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा छ ।
थ्री स्टार भने समान नौ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा छ । लिगका पछिल्ला पाँच संस्करणलाई आधार मान्ने हो भने मनाङमाथि थ्री स्टार केही हदसम्म हाबी देखिन्छ । तर लिगमा यी दुई टिमबीचको पछिल्ला जित भने मनाङकै नाममा छ ।
वर्ष ०७६ मा मनाङ र थ्री स्टारले २–२ को बराबरी खेले । त्यस अगाडि वर्ष ०७५ मा मनाङले थ्री स्टारलाई २–१ ले हराएको थियो । वर्ष ०७० का दुवै खेलमा थ्री स्टार विजयी रह्यो, क्रमश: १–० र २–१ ।
यस्तै वर्ष ०६९ का दुई खेलमध्ये पहिलोमा थ्री स्टार १–० ले विजयी रह्यो भने अर्को खेल १–१ को बराबरीमा समाप्त भएको थियो । वर्ष ०६८ मा थ्री स्टार १–० ले नै विजयी रहेको थियो ।
यसरी यी दुई टिमबीचको पछिल्ला सात खेलमध्ये थ्री स्टारमा चारमा विजयी रहेको छ भने मनाङ एकमा मात्र । बाँकी दुई खेल भने बराबरीमा टुगेको छ ।