काठमाडौं । च्यासलले सहिद स्मारक लिग ए डिभिजन खेल्दै गरेको यसपल्ट तेस्रो सिजन मात्र हो । त्यस अर्थमा च्यासल नेपाली माथिल्लो डिभिजनका लागि नयाँ नै हो र यसअघिका दुई संस्करणमा उसले रेलिगेसनबाट बच्न नै संघर्ष गर्नु परेको थियो ।
यसपल्ट पनि उसको स्थिति त्यस्तै छ । यही च्यासलले ०७८ को ए डिभिजनमा शनिबार दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन मछिन्द्रको सामना गर्दैछ । मछिन्द्र अहिले लिग तालिकाको शीर्ष स्थानमा छ र लगातार दोस्रो उपाधितर्फ उन्मुख देखिएको छ ।
रमाइलो के छ भने मछिन्द्रविरुद्ध च्यासलको प्रदर्शनको इतिहास भने राम्रो छ । अहिलेसम्म यी दुई टिमबीच दुई भेट भएकोमा दुवै बराबरीमा टुंगेका छन् । त्यस अर्थमा भन्न सक्छौं, मछिन्द्रलाई च्यासलले बराबरीको टक्कर दिन सक्छ।
अहिले तत्काल मछिन्द्रको नौ खेलबाट २३ अंक छ । च्यासलको भने समान नौ खेलबाट पाँच अंक मात्र छ । वर्ष ०७५ को यी दुई टिमबीचको पहिलो भेट गोलरहित बराबरीमा टुंगेको थियो ।
वर्ष ०७६ को पछिल्लो लिगको खेल भने १–१ को बराबरीमा रह्यो । दोस्रो चरणमा भएको त्यस खेलमा च्यासलले २७ औं मिनेटमा सन्तोष साहुखलको गोलले अग्रता लिएको थियो । तर खेल सकिन एक मिनेट अगाडि देवेन्द्र तामाङले मछिन्द्रका लागि बराबरी गोल फर्काए ।