काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेलहरु हुँदैछ ।
लिगको दशौँ चरण अन्तर्गत शनिबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र च्यासलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
मछिन्द्र ९ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । आज च्यासललाई हराएर मछिन्द्र शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ ।
च्यासल ९ खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ । रेलिगेसनबाट बच्न च्यासललाई यस खेल महत्वपूर्ण रहेको छ ।
दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र थ्री स्टारबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
मनाङ ९ खेलमा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । उपाधि होड कायम राख्न मनाङ थ्री स्टारलाई हराउन चाहन्छ ।
थ्री स्टार १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ । थ्री स्टार पनि मनाङलाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ ।
यस्तै सातदोबाटोस्थित एन्फा कप्लेक्समा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र सातदोबाटोबीचको खेल १ बजे सुरु हुनेछ ।
पुलिस १० अंक जोडेर दशौँ स्थानमा रहेको छ । सातदोबाटो १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।