काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शुक्रबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मी र जावलाखेलले १-१ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।
बराबरीपछि आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले जावलाखेलले उत्कृष्ट खेलेको बताए । अन्तिम समयमा गोल गर्दै अंक खोस्न सफल भएकोमा उनी खुशी देखिए ।
'आजको खेल हामीले भन्दा जावलाखेलले राम्रो खेल्यो । पहिलो हाफ उनीहरुको राम्रो थियो । हामीले पहिलो हाफमा एक मात्र अवसर बनाउन सक्यो । हाम्रो खासै प्रदर्शन देखिएन,' प्रशिक्षक न्यौपानेले भने, 'खेलाडीमा इन्जुरीका कारण पनि हामीले सोचेको अनुसार प्रदर्शन गर्न सकेका छैनौँ । तर, अन्तिममा गोल फर्काउन सक्यौ । एक अंक खोस्न सकेकोमा खुसी नै छु ।'
जावलाखेलका मुख्य प्रशिक्षक किशोर केसीले आर्मीविरुद्ध अंक खोस्ने योजना सफल भएको बताए । 'जितिसकेको खेल हो । तर आज हाम्रो एक अंक नै योजना थियो । मैले खेलाडीलाई तीन अंक दिन्छौ भने तिमिहरु महान हौ भनेको थिए,' केसीले भने, 'आज राम्रो खेले । म खुसी छु । अन्त्यमा बराबरी भएपनी हामिले १-० को अग्रता बनाएका थियौ । आर्मी जस्तो टोलिसँग यो प्रदर्शनबाट खुशी छु ।'