पबित्रहाङमा कप : जनता सेभेन सेमिफाइनलमा

इलाम । इलामको माङसेबुङमा जारी १२ औ संस्करणको पबित्रहाङमा कप खेलकुद प्रतियोगितामा जनता सेभेन स्पोर्टिङ क्लब सूर्योदय नगरपालिका इलाम सेमिफाइनलमा प्रवेश गरेको छ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द खेल मैदानमा शुक्रबार भएको खेलमा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै जनता सेभेन सेमिफाइनलमा प्रवेश गरेको हो ।
जनता सेभेनलाई जित दिलाउन जेनीफर राना मगरले निर्णायक गोल गरिन् । जेनीफरले खेलको ३० औं मिनेटमा निर्णायक गोल गरेकी हुन् । फाइनल प्रवेशका लागि अब जनता सेभेनले माङसेबुङ गाउँपालिका खेलकुद बिकास समिति इलामसँग प्रतिस्पर्धा गर्नेछ । माङसेबुङले उद्धघाटन खेलमा सिरिजंगा स्र्पोटिङ क्लब पथरी शनिश्चरे मोरङलाई ४–० ले हराउँदै सेमीफाइनल स्थान बनाएको थियो । आजको खेलको वुमन अफ दी म्याच जनता सेभेनकी जेनीफर राना मगर घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
शनिबार (भोली) अन्तिम क्वाटरफाइनल खेलमा केराबारी गाउँपालिका खेलकुद समिति मोरङ र पञ्चकन्या एफ.सी. उदयपुर बीच खेल हुनेछ । केराबारी यसअघि रोयल स्र्पोटिङ क्लब दमकलाई टाइब्रेकरमा हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो । उदयपुर बाइ पाउँदै क्वाटरफाइनल पुगेको हो ।












