जावलाखेलसँग आर्मीको रोमान्चक बराबरी

काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीले जावलाखेलसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।
रोमान्चक खेलको इन्जुरी समयमा सुमन अर्यालले गोल गरेपछि आर्मी हारबाट जोगिएको हो । इन्जुरी समयको सातौं मिनेटमा जगजित श्रेष्ठको क्रसमा सुमनले सहजै गोल गरेका थिए ।
त्यसअघि खेलको ५३ औं मिनेटमा ओन्गुना जुनियरले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । रुप बहादुर लामाको ब्याक पासमा आर्मीका तीन डिफेन्डरलाई बिट गर्दै जुनियरले उत्कृष्ट गोल गरे ।
त्यस बाहेक दुबै टोलीले पाएको अन्य अवसरमा गोल गर्न सकेनन् ।
खेलको दोस्रो मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले सिक्स यार्ड बक्स नजिकैबाट प्रहार गरेको बल गोललाइनमा रहेका जावलाखेलका सुरज ज्यु ठकुरीलाई लाग्दै फर्किएको थियो ।
खेलको २४ औं मिनेटमा जावलाखेलका ओन्गुना जुनियरले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट प्रहार गरेको बल आर्मीका गोलकिपर विकेश कुथुले मुश्किलले बचाए ।
२९ औं मिनेटमा जुनियरकै बक्स भित्रबाटको उत्कृष्ट प्रहार पनि विकेशले बचाए।
खेलको ३१ औं मिनेटमा आर्मीका कप्तान भरतले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको बल जावलाखेलका गोलकिपर टिकेन्द्र सिंह थापाले आफ्नो पन्जामा पारे ।
खेलको इन्जुरी समयको पहिलो मिनेटमा सन्तोष तामाङको इन्डाइरेक्ट फ्रि-किक जावलाखेलका गोलकिपर टिकेन्द्रले उत्कृष्ट बचाउ गरे । त्यहि बलमा आएको रिबाउन्डमा राजिब गुरुङले बाहिर प्रहार गरे ।
यस बराबरीसँगै आर्मीले १० खेलमा १८ अंक जोडेको छ । आर्मी तेस्रो स्थानमा यथावत रहेको छ ।
जावलाखेलले १० खेलमा ९ अंक जोडेको छ । जावलाखेल ११ औं स्थानमा रहेको छ ।












