काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले पहिलो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५-२ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले पहिलो जित निकालेको हो ।
फ्रेन्ड्सको पहिलो जितमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई-दुई गोल गरे । श्याम बाबु केप्छ्याकीले एक गोल थपे ।
ब्रिगेडका ड्याडी जुनियर वाम्बा र अनिल गुरुङले एक एक गोल फर्काए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको १४ औं मिनेटमा सुशीलले फ्रि-किकमार्फत गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
ब्रिगेडका ड्याडी जुनियर वाम्बाले नाथनियल जुड ग्रासियालाई फउल गरेपछि फ्रेन्ड्सले फ्रि-किकको अवसर पाएको थियो । जसमा फ्रेन्ड्सका लागि डेब्यु खेलाडी सुशीलले उत्कृष्ट गोल गरे ।
तर, खेलको २५ औं मिनेटमा ड्याडीले फ्रि-किक मार्फत गोल गर्दै ब्रिगेडलाई १-१ गोलको बराबरीमा ल्याए । असिम भुसालले भुवन बस्नेतलाई फउल गरेपछि ब्रिगेडले फ्रि-किकको अवसर पाएको थियो ।
खेलको २७ औं मिनेटमा श्यामले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को अग्रता दिलाए ।
काउन्टर बलमा विकास थापाले ब्रिगेडका गोलकिपर गुरप्रित सिंहलाई बिट गर्दै उपलब्ध गराएको बलमा श्यामले सहजै गोल गरे ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा जमउलले गोल गर्दै फ्रेन्ड्सलाई ३-१ को अग्रता दिलाए । निशेन सुब्बाको फ्रि-किकमा उनले हेडर मार्फत गोल गरे ।
७६ औं मिनेटमा जमउलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ४-१ को अग्रता दिलाए । प्रिजेन तामाङको पासमा उनले ब्रिगेडका गोलकिपर सिंहलाई बिट गर्दै सहजै गोल गरे ।
खेलको ७८ औं मिनेटमा सुशीलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ५-१ को अग्रता दिलाए । प्रिजेनको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट भली गोल गरे ।
त्यसपछि खेलको ८६ औं मिनेटमा ब्रिगेडका अनिलले पेनाल्टीमा गोल गरेपनि फ्रेन्ड्स ५-२ ले विजयी भयो । फ्रेन्ड्सका प्रिजेनले रुडीलाई पेनाल्टी बक्स भित्र फउल गरेपछि ब्रिगेडले पेनाल्टीको अवसर पाएको थियो ।
अनिलले करिब आठ वर्षपछि लिगमा गोल गरेका हुन् । पछिल्लो पटक अनिलले २०७० को फागुन १७ गते थ्री स्टारविरुद्ध गोल गरेका थिए ।
त्यस बाहेक दुबै टोलीले पाएको थुप्रै मौका गुमायो ।
पहिलो हाफको इन्जुरी समयको सातौं मिनेटमा ब्रिगेडका भुवन बस्नेतले सिक्स यार्ड बक्स भित्रबाट प्रहार गरेको बल फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले उत्कृष्ट बचाउ गरे ।
खेलको ४८ औं मिनेटमा ब्रिगेडका रोशन राना मगरको बक्स बाहिरबाटको सशक्त प्रहार फ्रेन्ड्सका गोलकिपर राहुलले उत्कृष्ट बचाए ।
ब्रिगेडका बेर्टरान्ड ओटोउले अनमार्क रहेको अवस्थामा ५७ औं मिनेटमा बक्स भित्रबाट बाहिर प्रहार गरे ।
लगत्तै ब्रिगेडका अनिल गुरुङले गोलको सुनौलो अवसर गुमाए । रुडीको पासमा अनिलको वान टच प्रहारले पोस्टको दिशा लिन सकेन ।
खेलको ६४ औं मिनेटमा ब्रिगेडका शिशिर लेखीको फ्रि-किक प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
६९ औं मिनेटमा ब्रिगेडका दोर्जी तामाङको फ्रि-किक फ्रेन्ड्सका गोलकिपर यादवले उत्कृष्ट बचाउ गरे ।
खेलको ७१ औं मिनेटमा ब्रिगेडका रोशनको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
यस जितसँगै फ्रेन्ड्सले १० खेलमा ६ अंक जोडेको छ । फ्रेन्ड्स १२ औं स्थानमा उक्लिएको छ ।
ब्रिगेड १० खेलमा ६ अंक जोडेर १३ औं स्थानमा झरेको छ ।
खेलमा फ्रेन्ड्सका सुशील प्लेयर अफ दि म्याच चुनिए ।
इमर्जिङ प्लेयर फ्रेन्ड्सका आकाश थापा चुनिए ।