काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको दशौँ चरणको खेलहरु आज शुक्रबारबाट सुरु हुँदैछ । शुक्रबार दशौँ चरणका दुई खेलहरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र ब्रिगेडबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
फ्रेन्ड्स र ब्रिगेड दुबै टोली जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । त्यसैले यस खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
फ्रेन्ड्स ३ अंक जोडेर लिगको पुछारमा रहेको छ । फ्रेन्ड्सले ९ चरण सकिदा जित निकाल्न सकेको छैन ।
रेलिगेसनबाट जोगिन फ्रेन्ड्सलाई ब्रिगेडविरुद्धको खेल जित्नैपर्ने दबाब छ ।
'यस खेल हाम्रो लागि एकदम महत्वपूर्ण छ । जित बिना पश्चातापको कुनै अर्थ हुदैन । हामी ३ अंकका लागि खेल्छौ,' फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्र भन्छन्, 'अवश्य पनि हामी जित निकाल्छौ । त्यहि अनुसारको तयारी छ । हार ब्यहोरेमा रेलिगेसनको सम्भावना ९९ प्रतिशत हुन्छ ।'
ब्रिगेड ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । रेलिगेसनबाट बन्च ब्रिगेडलाई पनि जित आवश्यक छ ।
'फ्रेन्ड्सविरुद्धको खेल हाम्रो लागि गर या मर जस्तै हो । तयारी राम्रो छ । खेलाडी मानसिक र शारीरिकरुपमा राम्रो छ । हामी यस खेलमा जितका लागि नै खेल्छौं,' ब्रिगेडका प्रशिक्षक समिर विष्ट भन्छन्, 'जित बाहेक अर्को बिकल्प छैन ।'
यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र जावलाखेलबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
आर्मी जावलाखेललाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ । आर्मी १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
'तयारी राम्रो छ । राम्रो लयमा छ । तर, जावलाखेल राम्रो टिम छ उसले सबै टिमविरुद्ध राम्रै खेल्दै आएको छ,' आर्मीका प्रशिक्षक राजु तामाङ भन्छन्, 'हामी तीन अंकका लागि खेल्छौ । आउने चारवटै खेल जित्ने तथा शीर्ष तीनमा रहने योजना छ ।'
जावलाखेल पनि आर्मीविरुद्ध उत्कृष्ट नतिजाको खोजीमा हुनेछ । जावलाखेल ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
आर्मीलाई हराएर जावलाखेल अंक तालिका सुधार्न चाहन्छ ।
'तयारी राम्रो चलिरहेको छ । हामीलाई विश्वास छ आर्मीसँग राम्रो प्रतिस्पर्धा गर्छौ,' आर्मीविरुद्धको खेलबारे जावलाखेलका मुख्य प्रशिक्षक किशोर केसीले भने ।