काठमाडौं । इंग्ल्यान्ड तथा म्यान्चेस्टर युनाईटेडका पूर्व स्ट्राइकर वायन रुन्नीले किशोराअवस्थामा उच्च स्तरको फुटबल खेल्ने दवावका लागि तयार नभएको र ती समस्याहरुसँग जुध्न रक्सी सेवन गर्ने गरेको बताएका छन् ।
रुन्नीले किशोराअवस्थामा एभर्टनका लागि खेले र इंग्लीस प्रिमियर लिग अन्तर्गत १६ वर्षकै उमेरमा आर्सनलविरुद्ध सन् २००२ मा पहिलो गोल गरेका थिए ।
त्यसपछि उनले युनाईटेडमा आवद्ध हुदै इंग्ल्यान्डकै एक सर्वाधिक सफल फुटबल खेलाडी बने ।
३६ वर्षीय रुन्नीले युनाइटेडका लागि २ सय ५३ गोल गर्दै पाँच प्रिमियर लिग उपाधि तथा च्याम्पियन्स लिगको उपाधि दिलाए ।
इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेलका तथा १ सय २० अन्तर्राष्ट्रिय गोल गरेका रुन्नीले लिभरपुल काउन्सिल इस्टेटमा हुर्किएपछि प्रसिद्धिको सामना गर्न संघर्ष गर्नुपरेको बताए ।
१६ वर्षमै प्रिमियर लिग तथा अन्तर्राष्ट्रिय खेलाडी बन्नका लागि आफू तयार नरहेको तथा यसका लागि अभ्यस्त हुन वर्षौ लागेको रुन्नीले जनाए ।
रुन्नीले सन् २००९ सम्म आफ्नो पहिलो सन्तान काई नजन्मिउन्जेल रक्सी खाने समस्या जारी रहेको बताए ।
फुटबलबाट आराम मिलेको अवस्थामा आफूले आफैलाई कोठामा थुनेर रक्सी खाने गरेको रुन्नीको भनाई छ ।