काठमाडौं । फुटबलमा जितको भोक रहेन भने के हुन्छ त ? लेस्टर सिटीमा अहिले जे भइरहेको छ, त्यही हुन्छ ।
लेस्टर भर्खरै मात्र एफएकपबाट बाहिरिएको छ, त्यो पनि दोस्रो डिभिजनको प्रतिद्वन्द्वी नटिंघम फरेस्टविरुद्धको खेल गुमाएर ।
फरेस्ट लेस्टरका लागि नजिकको छिमेकी टिम पनि हो, त्यसैले यो हार अझ पीडादायी भएको छ ।
त्यति मात्र कहाँ हो र, लेस्टर एफएकपको डिफेन्डिङ च्याम्पियन पनि त हो, यो हारपछि उपाधि रक्षा गर्ने टिमको अभियानमा पनि धक्का लागेको छ ।
यस्तोमा व्यवस्थापक ब्रेन्डन रोजर्सले आफ्ना खेलाडीका लागि कडा शब्द बोलेका छन् । उनले भनेका छन्, ‘अब त्यो समय आएको छ, हाम्रा खेलाडीले आफ्नो अनुहार ऐनामा हेर्नु पर्नेछ ।’

उनी थप्छन्, ‘अनि आफैले आफैलाई सोध्न पर्नेछ, के आफू यत्तिको माथिल्लो स्तरमा फुटबल खेल्नका लागि योग्य छ त ? हाम्रा अधिकांस खेलाडीको प्रदर्शनमा अब तत्काल सुधार आवश्यक छ । हाम्रो प्रदर्शन फरेस्टविरुद्ध वास्तवमै खराव रह्यो । म आफ्ना समर्थकसँग पनि माफि माग्छुं, आजको नतिजा वास्तवमै खराब थियो ।’
मे महिनामा एफएकप उपाधि जित्ने क्रममा लेस्टरले चेल्सीलाई हराएको थियो । यस सिजन लेस्टरका लागि खासै राम्रो भइरहेको पनि छैन् । इंग्लिस प्रिमियर लिगमा पनि लेस्टरको स्थिति खासै उत्साहबर्ढक छैन् । यस्तोमा लेस्टरले यो सिजन संघर्ष गर्ने देखिन्छ । नत्र रोजर्सले भने जस्तै, फरेस्टविरुद्धको हार बेहोर्नु पर्ने थिएन् ।
–बीबीसीको सहयोगमा ।