एजेन्सी । अफिका कप अफ नेसन्सको फाइनलमा आईतबार राति सेनेगल र इजिप्ट भिड्दैछन् । प्रिमियर लिग क्लब लिभरपुलका दुई हतियार मोहमद सलाहा र साडियो माने एक आपसमा भिड्न लागेका हुन् ।
सलाहा उत्तरी अफ्रिकन देश इजिप्टलाई कीर्तिमानी आठौं पटक च्याम्पियन बनाउने लक्ष्यमा छन् । माने पहिलो पटक सेनेगललाई उपाधि जिताउने अभियानमा ।
सेनेगल अफ्रिकन कप अफ नेसन्सको अभागी टिम हो । उसले सन् २००२ र २०१९को फाईनल गुमाएको थियो । इजिप्ट सन् २०१० पछि पहिलो पटक उपाधि उचाल्ने दाउमा छ ।
क्यामरुनको राजधानी याओन्डेमा हुने फाईनलमा प्रिमियर लिगको नयाँ शक्ति क्लब लिभरपुलका दुई स्टार आमने सामने हुनेछन् । दुवैले आफ्नो देशको प्रतिनिधित्व गर्दै सबै भन्दा ठुलो महादेशीय प्रतियोगिताको फाईनल यात्रा तय गरेका हुन् ।
माने र सलाहा लिभरपुलका दुई फरवार्ड हुन् । २९ वर्ष उमेरका दुवैले क्लबका लागि सय बढी गोल गरेका छन् । दुवै फरवार्डको सहयोगमा लिभरपुलले च्याम्पियन्स लिग सहित ३० वर्षको अन्तरमा पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको थियो ।
दुवै टिम मार्चमा विश्वकप छनोटको दुई लेगको प्लेअफमा भिड्दैछन् । तर महादेशीय सर्वोच्चताको टुङ्गो आईतबारको रातले लगाउनेछ ।
अन्तिम १६ को खेलमा चोटका बाबजुट मानेले तीन गोल गरेका छन् । सलाहाले दुई गोल गर्दै एक गोलको अवसर सिर्जना गरेका छन् ।
‘सेनेगल र साडियोविरुद्ध खेल्न पाउनु महान कुरा हो ।’ सलाहाले भनेका छन् । ‘हामी प्रतिद्धन्दी हौं । लगत्तै हामी सहकर्मी पनि हुनेछौं ।’ उनले थपेका छन् ।
लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले दुवै खेलाडीलाई फाईनलमा देख्न पाउनु महान उपलब्धि भएको बताएका छन् ।
‘प्रतियोगितामा यति धेरै लामो दुरी पार गर्नु कठिन हो । र उनीहरुमाथि ठुलो जिम्मेवारी र दबाब थियो । उनी दुवैसँग केही ठुलो गर्नका लागि अवसर छ ।’ क्लोपले भनेका छन् ।
सन् २०१९ को फाईनलमा अल्जेरियासँग फाईनलमा पराजित हुँदा माने टिमको हिस्सा थिए । उनी त्यही अनुभव आफ्नो लागि सम्पती भएको मान्छन् ।
‘यस टिममा धेरै नेतृत्व गर्ने खेलाडी छन् । किनकी हामीसँग धेरै राम्रा खेलाडी छन् । जो परिपक्क छन् ।’ मानेले भनेका छन्, ‘सबै खेलाडीले उत्तिकै योगदान गरिरहेका छन् ।’
खेल नेपाली समय अनुसार राति पौने एक बजे सुरु हुनेछ ।