काठमाडौं । फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)को नयाँ तीन टिमको अक्सनको तयारी गरिएको छ ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीले दोस्रो सिजनका लागि थपिने तीन टिमको अक्सनको तयारी गरेको हो ।
आयोजक कम्पनीले थपिने नयाँ तीन टिमका लागि आगामी शुक्रबार अक्सन कार्यक्रमको आयोजना गरेको छ ।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुँदैछ । पहिलो सिजन ७ टिमलाई समावेश गरेर खेलाईएको थियो । शहरलाई फ्रेन्चाईज गरेर सञ्चालन गरिएको एनएसएलको पहिलो सिजनमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी समावेश थिए ।
दोस्रो सिजन तीन टिम थप्ने आयोजकको तयारी छ । नयाँ थपिने तीन टिमको छनोट अक्सनमार्फत गराउने एनएसएलले जनाएको छ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टका निर्देशक श्रेयाङ्स कार्कीले नयाँ तीन टिम थप्ने प्रक्रिया अघि बढेको खेलपाटीलाई बताए।
उनले नयाँ थपिने तीन शहरको नामको अधिकार बेच्ने गृहकार्य अघि बढिरहेको उल्लेख गरे ।
आयोजकले एनएसएलमा टिम किन्न इच्छुक व्यक्ति तथा कम्पनीसँग प्रस्ताव गरेर छलफल गरिरहेको छ । नयाँ तीन टिममा मधेश प्रदेश र कर्णाली प्रदेशलाई प्राथामिकतामा राखिएको छ ।
‘अक्सन कसरी गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं । तर मधेश र कर्णाली प्रदेशबाट टिम लिनेलाई प्राथमिकतामा राखेका छौं ।’ कार्कीले भने, ‘एनएसएलमा देशभरीबाट प्रतिनिधित्व हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
आयोजकले इच्छुक व्यक्ति तथा कम्पनीलाई टिमको नाम सहित प्रस्ताव पेश गर्न आग्रह गरेको छ । कम्पनीलाई प्राप्त हुने प्रस्तावलाई हेरेर अक्सनमा समावेश गरिने नेपाल स्पोर्टस म्यानेजमेन्टले जनाएको छ ।
निर्देशक कार्कीका अनुसार अहिले टिमको नामको अधिकार बेच्न लागिएको हो । नाम प्राप्त गर्ने अधिकारीले फ्रेन्चाईज शुल्क भने छुट्टै तिर्नुपर्नेछ ।
अघिल्लो सिजन प्रत्येक टिमले १ करोडदेखि २ करोडसम्म लगानी गरेका थिए । बन्द रंगशालामा भएको एनएसएलमा धेरै टिमले दर्शक विहीन भएर खेलेका थिए ।
‘पैसा भन्दापनि फुटबलका राम्रा मान्छे एनएसएलमा आउन् भन्ने चाहाना हो । प्रतिनिधित्व हुन नसकेको क्षेत्रबाट टिम आएको खण्डमा प्राथामिकता दिईनेछ ।’ उनले भने ।
देशकै ठुलो व्यापारिक घराना चौधरी ग्रुप स्वामित्वको एनएसएलको पहिलो संस्करण कोभिड–१९ को लकडाउनका बीच सफल भएको थियो । दोस्रो सिजनमा तीन टिम थप्दै काठमाडौं र पोखरामा प्रतियोगिता सञ्चालन गर्ने आयोजकको तयारी छ ।
नेपाल सुपर लिग - अब दुई शहरमा, तीन टोली थप
नेपाल सुपर लिगको दोस्रो संस्करण चैतबाट