काठमाडौं । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडका व्यवस्थापक राल्फ राङनिकबारे पहिलो पल्ट मुख खोलेका छन् र आफ्नो जर्मन प्रशिक्षकलाई सफलताको शुभकामना पनि दिएका छन् ।
नोभेम्बरमा ओले गन सोल्सार वर्खास्त भएपछि राङनिकले टिम सम्हालेका थिए, तर उनको आगमनपछि पनि म्यानचेस्टरको प्रदर्शनमा सुधार आएको छैन् ।
इंग्लिस प्रिमियर लिगमा उल्भ्सविरुद्धको खेल गुमाएको म्यानचेस्टरले भर्खरै एफएकपमा भने एस्टन भिल्लालाई हराएको छ । अहिले तत्काल म्यानचेस्टरका खेलाडीबीच नै फुट रहेको र रोनाल्डो तथा राङनिकबीच राम्रो सम्बन्ध नरहेको चर्चा बाहिर आइरहेको छ । यसैबीच रोनाल्डोको पछिल्लो अन्तर्वार्ता अगाडि आएको हो ।
स्काइ स्पोर्टससँगको कुराकानीमा रोनाल्डोले भनेका छन्, ‘राङनिक आएको भर्खर केही साता भएको छ र उनले क्लबमा केही परिवर्तन पनि गरेका छन् । उनले आफ्नो धारणा खेलाडीसामु राखेका पनि छन् । उनी क्लबमा सुधार गर्न नै आएका हुन् । त्यसका लागि समय चाहिन्छ । परिवर्तन गर्ने काम सजिलो पनि हुन्न ।’
उनले थपेका छन्, ‘मेरो विचारमा अहिले राङनिकले राम्रै काम गरिरहेका छन् । हामी सबै एउटै डुंगामा छौं, त्यसैले एकअर्काविरुद्ध झगडा गरेर केही काम छैन् । हामीलाई मिल्नु नै पर्छ । म फेरि दोहराएर भन्छुं, परिवर्तनका लागि समय चाहिन्छ । अनि यो सिजन अझ राम्रो हुनेमा मलाई विश्वास पनि छ ।’
–मिररको सहयोगमा ।