एजेन्सी । चेल्सीका प्रशिक्षक माउरिजियो सर्रीले क्लबका समर्थकलाई चेतावनी दिएका छन् । उनले चेल्सी समर्थकलाई क्लबका पुर्व प्रशिक्षक जोसे माउरिन्होलाई सम्मान गर्न समेत आग्रह गरेका छन् । प्रशिक्षक सर्रीले क्लबका समर्थकलाई आग्रह गर्दै पुर्व प्रशिक्षक माउरिन्होलाई धेरै सम्मान गर्नुपर्ने धारणा राखे ।
गत शनिबार स्टामफोर्ड ब्रिजमा चेल्सी र म्यान्चेष्टर युनाईटेडबीचको खेलको अन्तिम समयमा विवाद उत्पन्न भएको थियो । चेल्सीका रोस बार्कलीले अन्तिम मिनेटमा गोल गरेपछि लण्डन क्लबले म्यान्चेष्टर युनाईटेडसंग २–२ गोलको बराबरी खेलेको थियो । त्यो समयमा चेल्सीका सहायक प्रशिक्षक मार्को लानीले गोलको खुसीयाली मनाउने क्रममा जासे माउरिन्हो र म्यान युको बेन्च अगाडी गएका थिए ।
चेल्सीका समर्थकले माउरिन्होको अगाडी चर्को आवाज निकालेका थिए । प्रशिक्षक माउरिन्होले समेत चेल्सी समर्थक अगाडी ३ औला देखाएका थिए । माउरिन्होले चेल्सी प्रशिक्षकको रुपमा स्टामफोर्ड ब्रिजमा ३ पटक लिग उपाधि उचालेको सम्झना गराएका थिए ।
खेलपछि चेल्सी प्रशिक्षक सर्रीले भने, ‘माउरिन्होले यहाँ धेरै जितेका छन् । मलाई लाग्छ हामीले उनको सम्मान गर्न पर्छ । ती सबैलाई सम्मान गर्नपर्छ जसले क्लबकालागि उपाधि जितेका छन् ।’
टचलाईनको बिषयमा सर्रीले भने, ‘मैले पिचमा त्यो समय केही देखिन ।’ उनले थपे, ‘तर म्याच पछाडी मैले माउरिन्होसंग कुरा गरे । माउरिन्होले घटनाको बिषयमा बताए । तत्काल मैले घटना गलत दिशातर्फ उन्मुख भईरहेको देखे । मैले जुनियर स्टाफलाई बोलाएर घटनाको बिषयमा माफी माग्न लगाए । मलाई लाग्छ यो बिषय अब सकिएको छ । तर हामीले गल्ती गरेका छौ ।’
खेल अगाडी माउरिन्होको प्रशंसा गर्दै सर्रीले उनी आफु भन्दा राम्रो प्रशिक्षक भएको बताएका थिए ।