एजेन्सी । वायन रुनीले दुई गोल गरेपछि डीसी युनाइटेडले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा न्युयोर्क सिटी एफसीलाई ३ - १ ले हराएको छ । सोमबार बिहान भएको खेलमा डीसीले न्युयोर्कलाई ३ - १ ले हराएको हो ।
घरेलु मैदानमा न्युयोर्कलाई हराउन डीसीका लागि थप एक गोल लुसियानो अकोस्टाले गरे । न्युयोर्कका डेभिड भियाले एक गोल फर्काए । जितसंगै डीसीले एमएलएसको प्ले अफमा स्थान पक्का गरेको छ ।
औडी फिल्डमा खेलको आठौं मिनेटमा रुनीले गोल गर्दै डीसीलाई सुरुवाती अग्रता दिलाए । खेलको २४ औं मिनेटमा लुसियानोले गोल गरेपछि पहिलो हाफमा डीसी २ - ० ले अघि रह्यो ।
खेलको ७४ औं मिनेटमा पाएको पेनाल्टीमा रुनीले गोल गर्दै डीसीलाई ३ - ० को अग्रता दिलाए । यसै सिजन एभर्टनबाट क्लब आएका रुनीले डीसीका लागि यो १२ औं गोल हो ।
रुनीले गत साता टोरन्टो एफसीविरुद्ध फ्रिकिकमा निर्णायक गोल गरेका थिए । इंग्ल्यान्ड र म्यानचेस्टर युनाइटेडका पुर्व कप्तान समेत रहेका रुनी एभर्टनबाट गत असारमा डीसी युनाइटेडमा अनुबन्धित भएका थिए ।
त्यसपछि ७८ औं मिनेटमा भियाले एक गोल फर्काएपनि डीसीले खेल ३ - १ ले आफ्नो बनायो ।
जितसंगै रुनीको टिम डीसी ३३ खेलबाट ४५० अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । डीसी सन् २०१५ पछि पहिलोपटक पाँचौ स्थानमा उक्लिएको हो । ३३ खेलबाट ५३ अंक जोडेको न्युयोर्क तेस्रो स्थानमा छ ।