काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला फुटबलको टेक्निकल सेन्टर दाङमा स्थापना गर्ने भएको छ ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आइतबार महिला फुटबलको विकास र विस्तारको लागि दाङमा महिला टेक्निकल सेन्टर स्थापना गर्न लागेको जानकारी गराए ।
'हामीले महिला फुटबलको दोस्रो टेक्निकल सेन्टर दाङमा निर्माण गर्ने तयारी गरिरहेका छौं,' एफसी यू–१९ महिला च्याम्पियनसिप छनोट खेल्न थाइल्याण्ड जाने नेपाली यू-१९ टोलीको विदाईमा अध्यक्ष शेर्पाले भने ।
अध्यक्ष शेर्पाले दाङमा सन् २०१९ सम्म टेक्निकल सेन्टर स्थापना गरिने बताए । अध्यक्ष शेर्पाले महिला फुटबलले गरेको प्रगतिलाई अझ उचाई दिन थप योजनाहरु बनाउने समेत बताए ।
'नेपाली महिला फुटबलले छोटो समयमा धेरै प्रगति गरि सकेको छ,' अध्यक्ष शेर्पाले भने, 'आगामी दिनमा पनि यसलाई निरन्तरता दिन मैले महिला फुटबलमा धेरै लगानी गर्ने सोच बनाएको छु ।'
त्यस्तै अध्यक्ष शेर्पाले नेपाली महिला खेलाडीलाई छात्रवृत्तिबाट अन्य राष्ट्र पठाउने तयारी समेत गरिरहेको बताए ।
एन्फाले रौतहटमा महिला फुटबलको पहिलो टेक्निकल सेन्टर सुरु गरिसकेको छ ।