काठमाडौं । नयाँ व्यवस्थापकमा एन्टोनियो कोन्टे आएयता के टोटनहमको खेलमा सुधार आएको छ त ?
इंग्लिस प्रिमियर लिगमा टोटनहमले कोन्टे आएयता आफ्नो अपराजित यात्रा छ खेलमा कायम राखेको छ ।
यसमध्ये पछिल्लो खेलमा टोटनहमले क्रिस्टिल प्यालेसलाई हरायो र लिग अंक तालिकाको पाँचौं स्थानमा उक्लिन सफल रह्यो ।
यो प्रदर्शनपछि केही खेल पण्डितले अहिलेको टोटनहम र सन् २०१६ र २०१७ को चेल्सीको तुलना गर्न थालेका छन् ।
त्यो सिजन कोन्टेले चेल्सीलाई लिग उपाधि दिलाएका थिए । अहिले पनि कोन्टे आएपछि टोटनहम केही व्यवस्थित देखिएको छ । उनले क्लब सम्हालेको पनि नोभेम्बरयता मात्र हो ।
यसअघि टोटनहमले आफ्नो व्यवस्थापक नुनो सान्टोलाई वर्खास्त गरेको थियो । खराब लयबीच यी पोर्चुगाली प्रशिक्षकले आफ्नो जागिर गुमाएका थिए । चेल्सीले त्यो समय लिग जित्दा जुन लय देखाएको थियो, के त्यस्तै लयमा अहिले टोटनहममा देखा परेको हो त र ?
यो प्रश्न कोन्टेलाई सोधिंदा उनले उत्तर दिएका छन्, ‘मलाई त्यस्तो लाग्दैन, किनभने दुवै फरक स्थितिका हुन् । खासमा म कुनै पनि प्रकारको तुलना मन पराउने प्रशिक्षक होइन् ।
चेल्सीमा बिताएको त्यो सिजन मलाई अझै पनि खुबै याद छ । तर फेरि पनि भन्छुं, त्यो बेलाको परिस्थिति र अहिले टोटनहम रहेको अवस्था फरक छन् ।’ के त्यसो भए, कम्तीमा टोटनहमको प्रदर्शनमा त सुधार आएको छ, यसअघि नुनो टिमको व्यवस्थापनमा हुँदाको तुलनामा ?
यसको उत्तरमा उनले भनेका छन्, अहिले टोटनहमको अवस्था भनेको लेख्न पूरा नभएको कथा जस्तै हो । कोन्टे भन्छन्, ‘टिमको सुधार आवश्यक छ, यसमा कसैको दुविधा छैन् । सबैभन्दा खेलमा सुधारका लागि खेलाडीको आत्मविश्वास बढेको हुनु पर्छ । तपाईलाई पनि थाहा छ, मलाई पनि थाहा छ, टोटनहमको स्थितिमा साँच्चै सुधार ल्याउन धेरै काम बाँकी छ ।’ उनले क्रिस्टल प्यालेसविरुद्ध प्राप्त तीन गोलको जितमा भने खुसी व्यक्त गरे ।
उनले थपे, ‘लिगमा तीन अंक जित्नु सधैं खुसीको उपलब्धी हुने गर्छ । त्यसमाथि हाम्रा तीन स्ट्राइकरले एक एक गोल गरे । त्यसमाथि हामीले क्लिन सिट पनि राख्यौं ।’ प्यालेसमाथि प्राप्त त्यस जितमा ह्यारी केन, लुकास मोउरा र सन ह्वेङ–मिनले गोल गरेका थिए ।
यो जितपछि टोटनहमको २९ अंक भएको छ । यो चौथो स्थानमा रहेको आर्सनलको भन्दा छ अंक कम हो । तर आर्सनलको उत्तरी लन्डन प्रतिद्वन्द्वीले तीन खेल कम खेलेको छ ।
–रोयटर्सको सहयोगमा ।