काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ को छैटौं चरण समाप्त हुँदा डिफेन्डिङ च्याम्पियन मछिन्द्र फेरि शीर्ष स्थानमा उक्लेको छ ।
चौथो चरणको समाप्तीमा पनि मछिन्द्र पहिलो स्थानमा थियो । तर, पाँचौं चरण सकिंदा मछिन्द्रलाई मनाङ मर्स्याङ्दीले उछिनेको थियो । अब फेरि मनाङलाई उछिनेर मछिन्द्र शीर्ष स्थानमा आएको छ ।
मछिन्द्रकै हातबाट पराजित भएपछि मनाङले यस लिगमा पहिलो हार बेहोर्यो । यससँगै लिगमा अब तीन अपराजित टिम मात्र बाँकी रहेका छन् । त्यसमा मछिन्द्रसँगै संकटा र आर्मी रहेका छन् । अहिलेसम्म जित विहीन एक मात्र टिम फ्रेन्ड्स रहेको छ र यो १४ टिममध्ये अंक तालिकाको पुछारमा छ ।
लगातार दोस्रो चरण च्यासल र फ्रेन्ड्स अन्तिम दुई स्थानमा रहे, अनि रेलिगेसन दबाबमा रहे । छैटौं चरणमा आएर च्यासल लगातार तेस्रो खेलमा पराजित रह्यो ।
हिमालयन शेर्पा र जावलाखेल भने लगातार दोस्रो जित निकाल्न सफल रह्यो । यस्तै थ्री स्टारले लगातार चौथो बराबरी खेल्यो, यसमध्ये पछिल्ला तीन बराबरी गोलरहित छन् ।