एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दै अंक बाडेका छन् । शनिबार भएको खेलमा चेल्सी र युनाइटेडले २ - २ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।
स्टामफोर्ड ब्रिजमा रोमान्चक बनेको खेलको इन्जुरी समयमा रोस बार्क्लीले गोल गरेपछि चेल्सी हारबाट जोगिएको हो । त्यसअघि एन्टोनियो रुडिगरले २१ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, एन्थोनी मार्सियल चम्किएपछि युनाइटेडले निर्धारित ९० मिनेटसम्म २ - १ को अग्रता बनाएको थियो । खेलको ३४ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काएका थिए ।

त्यसपछि खेलको ७३ औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई २ - १ को अग्रता दिलाएका थिए । तर, खेलको अन्तिम केहि मिनेट युनाइटेडले चेल्सीलाई रोक्न सकेन र अंक गुमाउनु पर्यो । इन्जुरी समयको पाँचौ मिनेटमा बार्क्लीले गोल गर्दै चेल्सीलाई हारबाट जोगाए ।

युनाइटेडलाई बराबरी रोकेसंगै चेल्सी लिगको शीर्ष स्थानमा उक्लिएको छ । चेल्सीले ९ खेलबाट २१ अंक जोडेको छ ।
युनाइटेड ९ खेलबाट १४ अंक जोडेर आठौं स्थानमा छ ।