एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब रियल मड्रिड पराजित भएको छ । शनिबार भएको खेलमा रियल मड्रिड लेभान्टेसंग २ - १ गोल अन्तरले पराजित भएको हो ।
रियल घरेलु मैदानमै लेभान्टेसंग स्तब्ध बनेको हो । लेभान्टेलाई जित दिलाउन जोसे लुइस मोरलेस र रोजर मार्टिले एक एक गोल गरे । रियलका मार्सेलोले एक गोल फर्काए ।
पहिलो हाफको सातौं मिनेटमा मोरलेसले गोल गर्दै लेभान्टेलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १३ औं मिनेटमा मार्टिले पेनाल्टीमा गोल गरेपछि पहिलो हाफमा लेभान्टे २ - ० ले अघि रह्यो ।
खेलको दोस्रो हाफमा रियल खेलमा फर्कने कोशिस गर्यो । तर, सफल भएनन् । खेलको ७२ औं मिनेटमा मार्सेलोले एक गोल फर्काएपनि रियल लेभान्टेसंग २ - १ ले पराजित भयो ।

जितसंगै सातौं स्थानको लेभान्टेले ९ खेलबाट १३ अंक जोडेको छ ।
पराजित रियलले ९ खेलबाट १४ अंक जोडेको छ । र, हारसंगै रियलले शीर्ष तीन स्थानमा उक्लने मौका गुमाएको छ । लिगको पाँचौ स्थानमा रहेको रियलको यो चौथो हार हो ।
रियलले पछिल्लो सबैखाले प्रतियोगिताको पाँच खेलमा जित निकाल्न सकेको छैन ।
