काठमाडौं । विभागीय टिम एपीएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो अंक जोडेको छ ।
आइतबार भएको खेलमा थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै एपीएफले पहिलो एक अंक जोडेको हो ।
एपीएफले सुरुआती तीन खेलमा लगातार हार व्यहोरेको थियो । एपीएफले चौंथो चरणमा अंक जोडेको छ ।
पहिलो अंक जोडेपछि प्रशिक्षक कुमार थापालाई राहत महसुस भएको छ ।
'आजको एक अंकले पनि केही राहत भएको छ । आजको खेल जितेको भए हामीसँग १० खेल जस्तो हुने थियो । अब अझै राम्रो गर्छौ,' प्रशिक्षक थापाले पोस्ट म्याचमा भने ।
यस्तै प्रशिक्षक थापाले पाएको अवसर सदुपयोग गर्न नसक्दा जितबाट बन्चित भएको बताए ।
'आज हामीलाई जित्नै पर्ने खेल थियो । अवसर पाउँदा पाउदै पनि सदुपयोग गर्न सकेनौं । हामीले दिन प्रतिदिन राम्रो गरिरहेका छौँ । पहिलेबाटै यसरि राम्रो खेल्न सकेको भए सायद विदेशी खेलाडीको आवश्यकता हुने थिएन,' उनले भने, 'विन्डोज पनि बन्द छ । तर अनुबन्ध गर्ने तयारी छ ।'
थ्री स्टारका सहायक प्रशिक्षक रविन्द्र सिलाकारले पाएको अवसरमा गोल गर्न नसकेको बताए । उनले एक अंक पनि टिमका लागि महत्वपूर्ण रहेको बताए ।
'चाहेको नतिजा ल्याउन सकेनौं । उनीहरु तीन अंकका लागि खेलिरहेका थिए भने हामीले एक अंक भएपनि जोड्ने हिसाबमा खेल्यौं,' उनले भने, 'हामीले काउन्टर मुभहरु पनि बनाएका थियौं । तर, स्कोर गर्न सकेनौं । लिगमा अंक गुमाउनु भन्दा पनि अंक जोड्नु नै राम्रो लाग्यो । एक अंक पनि आवश्यक हुन्छ ।'