खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

काठमाडौं। खोप नलिएको कारण अर्जेन्टिनाको टोलीबाट हुलियन आल्भारेज, नाहुएल मोलिना र जियोलियानो सिमियोनेलाई बाहिर राखिएको छ।
अर्जेन्टिना आगामी नोभेम्बर १४ मा एङ्गोलाविरुद्ध वर्षको अन्तिम मैत्रीपूर्ण खेल खेल्दैछ। यसअघि घोषित टोलीमा यी तीनै खेलाडी परेका थिए। तर, अन्ततः अर्जेन्टिना फुटबल महासंघले ‘यल्लो फेभर’को खोप नलिएको कारण उनीहरूलाई टोलीबाट हटाइएको हो।
तीन खेलाडीको अनुपस्थितिमा अर्जेन्टिनाको टोलीमा फेरबदल गरिएको छ। साथै, चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेज पनि घुँडाको चोटका कारण टोलीबाट बाहिरिएका छन्। उनको स्थानमा केभिन म्याक एलिस्टरलाई बोलाइएको छ। उनी पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका हुन्।
एलिस्टर बेल्जियमको क्लब युनियन सेन्ट–गिल्लोइसका खेलाडी हुन्। डिफेन्सिभ मिडफिल्डरका रूपमा खेल्ने उनले २०२३ देखि सो क्लबबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
पहिलोपटक राष्ट्रिय टोलीमा समावेश भएपछि उनले भने,‘म्याच सुरु हुन दुई घण्टा अगाडि मलाई फोन आयो। यो मेरो जीवनको पहिलो अवसर हो।’
तीन खेलाडी टोलीबाट बाहिरिएपछि अर्जेन्टिनाले म्यानचेस्टर युनाइटेडका डिफेन्डर लिसान्द्रो मार्टिनेजलाई पनि पुनः राष्ट्रिय टोलीमा समावेश गरेको छ।












