काठमाडौं । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार सहज जित निकाल्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङले फ्रेन्ड्स क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । यस जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
जितपछि मनाङका सहायक प्रशिक्षक टोपे फुजा खुशी देखिए ।
'यो मेरो सिजनको पहिलो खेल हो । हामीले राम्रो खेल्यौं । मेरो लागि पनि राम्रो भयो,' खेलपछि उनले भने ।
फ्रेन्ड्सविरुद्ध नाइजेरियन प्रशिक्षक फुजाले टच लाइन सम्हालेका थिए ।
फुजाको यो सिजनको पहिलो खेल हो । फुजा मंगलबार मात्र नेपाल आईपुगेका थिए।
फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले सेटमा रहेका तीन खेलाडीले चोट बोक्दा खेलमा गार्हो भएको बताए ।
उनले कप्तान प्रकाश बुढाथोकी, प्रिजेन तामाङ र जमल चोट बोकेको बताए ।
'हामीले पहिले एक मौका पाएका थियौ । गुमायौ । सेटमा भएका तीन जना खेलाडी छैनन् । दुबै गोल हाम्रो कमजोरीमा खायौं । उनीहरुलाई गोल नै गर भने जस्तो भयो,' मिश्रले भने, 'खेलाडी अनमार्कमा राखे र गोल खान पुग्यौ । हामीले पनि गोल गरेका थियौ तर गोल मान्यता दिएन । तपाइले पनि हेर्नू भएको थियो होला । त्यो गोल दिएको भए खेल अर्को हुन सक्थ्यो ।'