काठमाडौं । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार फ्रेन्ड्स क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो ।
नाइजेरियन प्रशिक्षक टोपे फुजाले टच लाइन सम्हालेको खेलमा मनाङलाई जित दिलाउन आफिज ओलावाले र दिनेश राजवंशीले एक एक गोल गरे । फुजा मंगलबार मात्र नेपाल आईपुगेका थिए ।
फ्रेन्ड्सविरुद्ध आक्रामक खेल पस्किएको मनाङले दुबै हाफमा एक एक गोल गर्यो ।
पहिलो मिनेटमै मनाङका दयानन्द सिंहले पेनाल्टी एरियाबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।
कप्तान अन्जन विष्टको पासमा एडिलाजा सोमिडेले २१ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको भली पोस्टको नजिकैबाट बाहिरिदा मनाङ अग्रता बनाउन चुकेको थियो ।
मनाङका आफिज ओलावालेले ३९ औं मिनेटमा गोलको अवसर गुमाए । सिक्स यार्ड बक्सभित्रबाट उनको प्रहार फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले उत्कृष्ट बचाउ गरे ।
तर, खेलको ४१ औं मिनेटमा ओलावाले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाए । कप्तान अन्जनको क्रसमा अनमार्क रहेका ओलावाले हेड मार्फत सहजै गोल गरे ।

मनाङका कप्तान अन्जनले ५४ औं मिनेटमा अग्रता दोब्बर बनाउने मौका गुमाए । वान भर्सेस वानको अवस्थामा सिक्स यार्ड बक्सभित्रबाट उनको फितलो प्रहार फ्रेन्ड्सका गोलकिपर राहुलले सहजै बचाए ।
खेलको ७२ औं मिनेटमा ओलावाले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको बल फ्रेन्ड्सका गोलकिपर राहुलले मुश्किलले जोगाए
तर, खेलको ७३ औं मिनेटमा दिनेशले गोल गर्दै मनाङलाई २-० को अग्रता दिलाए । पुजन उपरकोटीको फ्रिकिकमा दिनेश हेडमार्फत गोलको जाली चुमाए । अन्जन विष्टलाई फउल गरेपछि मनाङले फ्रिकिकको अवसर पाएको हो ।
खेलको ८० औं मिनेटमा एडिलाजाको प्रहार फ्रेन्ड्सका गोलकिपर राहुलले उत्कृष्ट बचाउ गरे ।
८६ औं मिनेटमा फ्रेन्ड्सका नाथानिल जुड गार्सियाले गोल गरे । तर, अफसाइड रहेपछि उनको गोलले मान्यता पाएन । त्यसपछि थप गोल भएन र मनाङले सहज जित निकाल्यो ।
यस जितसँगै मनाङले ४ खेलमा १० अंक जोडेको छ । मनाङको यो तेस्रो जित हो ।
फ्रेन्ड्स ४ खेलमा २ अंक जोडेर दशौँ स्थानमा रहेको छ । फ्रेन्ड्सको यो दोस्रो हार हो ।
खेलमा मनाङका ओलावाले म्यान अफ दि म्याच चुनिए ।
इमर्जिङ प्लेयरको अवार्ड फ्रेन्ड्सका अनिल महर्जनले हात पारे ।