काठमाडौं । दोस्रो संस्करणको साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको उपाधि हात पार्ने लक्ष्य सहित नेपाली टोली मंगलबार बंगालदेश प्रस्थान गरेको छ ।
प्रतियोगिताको पहिलो संस्करणमा यू–१८ टोलीहरुबीच प्रतिस्पर्धा भएको थियो ।
भुटानमा सन् २०१८ मा भएको पहिलो संस्करणमा नेपाल उपविजेतामै चित्त बुझाएको थियो ।
फाइनलमा बंगलादेशसँग १–० ले पराजित भएपछि नेपाल उपविजेताको रुपमा फर्किन बाध्य भएको थियो ।
तर तीन वर्ष हुन लागेको दोस्रो संस्करणको उपाधि जित्ने नेपालको लक्ष्य रहेको छ ।
नेपाली टोलीकी कप्तान तथा गोलकिपर अन्जना राना मगरले टिमको लक्ष्य च्याम्पियन बन्ने नै रहेको बताईन् ।
’टिमको लक्ष्य च्याम्पियन हुने नै छ । सोही अनुसार टिमको तयारी छ । राम्रो नतिजा ल्याउने आशामा जादैछौँ हामी,’ अन्जनाले भनिन ।
पहिलो संस्करणमा आयोजक भुटानसहित भारत, माल्दिभ्स, नेपाल, बंगलादेश र पाकिस्तानले सहभागिता जनाएका थिए ।
भुटान, भारत र माल्दिभ्स भने समूह ‘ए’ तथा नेपाल, बंगलादेश र पाकिस्तान समूह ‘बि’ मा रहेका थिए । प्रतियोगिता लिग–कम–नकआउटको आधारमा खेलाइएको थियो ।
तर यस पटक केवल पाँच टिम आयोजक बंगलादेश, नेपाल, भुटान, भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता राउन्डरोविनको आधारमा खेलाइनेछ र सबै टिमले एकअर्काविरुद्ध खेल्ने अवसर प्राप्त गर्नेछन् र शीर्ष दुई टोली फाइनलमा प्रवेश पाउनेछन् ।
पहिलो संस्करणमा नेपालले फाइनलको यात्रा तय गर्दा सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ३–१ (१–१ को बराबरीपछि) पराजित गरेको थियो ।
तर फाइनलमा भने बंगालदेशसँग पराजित हुन पुग्यो ।
यस पटक नेपाललको मुख्य लक्ष्य पनि भारत र बंगलादेशलाई पराजित गर्नु रहेको छ ।
’हाम्रो मुख्य लक्ष्य भारत र बंगलादेशलाई जित्नु हो,’ अन्जनाले थपिन् ।
नेपाली टिमका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले च्याम्पियनसिपमा टिमको लक्ष्य उपाधि रहेको बताए ।
’भुटानमा भएको प्रतियोगितामा हामी दोस्रो भयौं । यस पटक पहिलो भएर आउने लक्ष्य छ । जसका लागि टिम पनि राम्रो छ,’ प्रशिक्षक श्रेष्ठले भने ।