काठमाडौं । विभागीय टिम एपीएफ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा लगातार तेस्रो हार ब्यहोरेको छ।
लगातार तेस्रो हारको सामना गर्ने क्रममा शुक्रबार एपीएफ सातदोबाटो युथ क्लबसँग ४-१ गोल अन्तरले पराजित भयो ।
लगातार तीन खेलमा पराजय व्यहोरेपछि एपीएफलाई रेलिगेसनको डर थपिएको छ । तीन खेलमा अंक विहीन एपीएफ पुछारमा रहेको छ ।
तर, एपीएफका मुख्य प्रशिक्षक कुमार थापा आफ्नो टिम रेलिगेसनबाट जोगिने बताउछन् ।
'आज जित्नै पर्ने थियो । लगातार तीन खेल हार्दा दबाब परेको छ । एक गोल खाएपछि फर्काउछौँ जस्तो लागेको थियो । सकिएन । अब रेलिगेसनबाट जोगिनु हामीलाई दबाब छ । हामी बच्छौँ पनि,' उनले खेलपछि भने ।
प्रशिक्षक थापाले राम्रो खेल्दा खेल्दै अंक गुमाउनु परेको समेत बताए ।
'हामीले ९ अंक गुमायौ । लिगमा ९ अंक सानो हैन । हामीले खेल्न चाहिँ राम्रो खेल्यौ । तीन खेलाडी डिफेन्समा राखेर खेलाएको। तर, पनि गोल हुन सकेन,' उनले थपे, 'मुख्य गोलकिपर पनि घाइते भयो । नयाँ किपरले रंगशालामा पहिलो पटक खेल्दा दबाब पर्यो ।'