काठमाडौं । नवप्रवेशी सातदोबाटो युथ क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
शुक्रबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको हो ।
सातदोबाटोलाई जित दिलाउन मार्टिन्स अजयीले ह्याट्रिक गोल गरे । सुशील राईको नाममा एक गोल रह्यो ।
एपीएफका लागि सातदोबाटोका करण राउतले आत्मघाती गोल गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको ३० औं मिनेटमा विवेक तामाङको कर्नरमा एपीएफका नविन लामाको हेडर बल क्रसबार भन्दा केहि माथिबाट बाहिरियो ।
खेलको ३९ औं मिनेटमा सातदोबाटोका कप्तान मान बहादुरको फ्रिकिकमा मार्टिन्स अजयीले सिक्स यार्ड बक्सबाट प्रहार गरेको बल एपीएफका गोलकिपर दिलकुमार लिम्बुले उत्कृष्ट बचाउ गरे ।
तर, खेलको ४२ औं मिनेटमा मार्टिन्सले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाए । एपीएफका डिफेन्डरको अफसाइड कललाई बिट गर्दै पेनाल्टी एरियाबाट सहजै गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा एपीएफका बिकी तामाङको पासमा आवास लामिछानेको प्रहार सातदोबाटोका गोलकिपर अविशेक बरालले मुश्किलले बचाए ।
इन्जुरी समयमै मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २-० को अग्रता दिलाए । पासाङ लामाको पासमा उनको पहिलो प्रहार एपीएफका गोलकिपर दिल कुमारले रोके । तर, त्यहिँ रिबाउन्ड बलमा उनले हेडमार्फत गोल गरे।
पहिलो हाफमा दुई गोलले पछि परेको एपीएफले दोस्रो हाफको सुरुआतमै गोल फर्कायो । ४७ औं मिनेटमा आशिष लामाको पासमा बिकी तामाङको प्रहार करणलाई लाग्दै गोल हुँदा एपीएफ २-१ गोलको स्थितिमा पुग्यो ।
तर, खेलको ५० औं मिनेटमा निरज चौधरीको पासमा सुशिलले पेनाल्टी एरियाबाट गोल गर्दै सातदोबाटोलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ५८ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत तेस्रो गोल गर्दै सातदोबाटोलाई ४-१ को जित दिलाए ।
सातदोबाटोका सुदिप गुरुङको क्रस रोक्ने क्रममा एपीएफका गोलकिपर दिलले फुत्काएको बलमा मार्टिन्सले सिक्स यार्ड बक्सबाट गोल गरेका हुन् । यससँगै मार्टिन्स जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।
खेलमा सातदोबाटोका मार्टिन्स म्यान अफ दि म्याच चुनिए ।
सातदोबाटोकै आकाश बुढा मगर इमर्जिङ प्लेयर चुनिए ।
सानदार जितसँगै शीर्ष स्थानमा उक्लिएको सातदोबाटोले ३ खेलमा ७ अंक जोडेको छ ।
एपीएफको यो लगातार तेस्रो हार हो । अंक विहीन एपीएफ पुछारमा रहेको छ ।