काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा थ्री स्टारले फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ ।
शुक्रबार भएको खेलमा थ्री स्टारले फ्रेन्ड्ससँग १-१ गोलको बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती एक गोलको अग्रता उल्टाएर थ्री स्टारले फ्रेन्ड्ससँग अंक खोसेको हो ।
थ्री स्टारका लागि मिक्छेन तामाङले गोल गरे । फ्रेन्ड्सका नाथनिल जुड ग्रासियाले एक गोल गरे ।
तर, दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
अन्तिम अन्तिम समय रोमान्चक बनेको खेलको चौंथो मिनेटमा फ्रेन्ड्सका प्रिजेन तामाङले करिब ३५ यार्डबाट प्रहार गरेको बल थ्री स्टारका गोलकिपर प्रिसोले मुश्किलले बचाए ।
खेलको २० औं मिनेटमा थ्री स्टारका हेमन्त थापा मगरको फ्रिकिक फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले सहजै आफ्नो पन्जामा पारे ।
फ्रेन्ड्सका नाथनिल जुड ग्रासियाको २३ औं मिनेटको हेडर बलले पोस्टको दिशा लिन सकेन ।
थ्री स्टारका संजोक राईले २५ औं मिनेटमा पेनाल्टी एरियाको एजतर्फबाट प्रहार गरेको ग्रास बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
खेलको ३४ औं मिनेटमा फ्रेन्ड्सका ग्रासियाको प्रहार क्रसबार भन्दा केहि माथिबाट बाहिरिएको थियो ।
दोस्रो हाफको ५० औं मिनेटमा थ्री स्टारले गोलको सुनौलो अवसर गुमायो । संजोक राईको पासमा ऋतिक कुमार खड्काले फ्रेन्ड्सका गोलकिपर राहुलसँगको वान भर्सेस वानको स्थितिमा गोल गर्न सकेनन् ।

लगत्तै ५१ औं मिनेटमा फ्रेन्ड्सले सुरुआती अग्रता बनायो । कप्तान प्रकाश बुढाथोकीको क्रसमा फ्रेन्ड्सका ग्रासियाले हेडमार्फत गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए ।
खेलको ७५ औं मिनेटमा अशोक खवासको पासमा संजोक राईले पेनाल्टी एरियाको बाहिरबाट प्रहार गरेको बल पोस्टमा लागेर फर्किदा थ्री स्टार बराबरी गर्न चुकेको थियो ।
तर, खेलको ८३ औं मिनेटमा मिक्छेन तामाङले गोल गर्दै थ्री स्टारलाई १-१ गोलको बराबरीमा ल्याए । फ्रेन्ड्सका डिफेन्डरले क्लियर
खेलको ८५ औं मिनेटमा थ्री स्टारले अर्को गोलको अवसर गुमायो । गोलकिपर पोजिसन भन्दा बाहिर रहेको समय ऋतिक कुमार खड्काले पेनाल्टी एरिया भन्दा बाहिरबाट प्रहार गरेको बल फ्रेन्ड्सका डिफेन्डर रोनिल एन्थोनी पाउलले गोललाइनबाट हेड गर्दै बचाए ।
त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् । र , खेल बराबरीमा सकियो ।
खेलमा फ्रेन्ड्सका ग्रासिया म्यान अफ दि म्याच चुनिए ।
फ्रेन्ड्सकै निशेन सुब्बा इमर्जिङ प्लेयर चुनिए ।
यस बराबरीसँगै थ्री स्टारले ३ खेलमा ४ अंक जोडेको छ ।
फ्रेन्ड्सले ३ खेलमा २ अंक जोडेको छ ।