काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत अहिले फ्रेन्ड्स क्लब कुपन्डोल र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा फ्रेन्ड्स र थ्री स्टारले गोलरहित बराबरी खेलेका छन्।
पहिलो हाफमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।
चौंथो मिनेटमा फ्रेन्ड्सका प्रिजेन तामाङले करिब ३५ यार्डबाट प्रहार गरेको बल थ्री स्टारका गोलकिपर प्रिसोले मुश्किलले बचाए ।
खेलको २० औं मिनेटमा थ्री स्टारका हेमन्त थापा मगरको फ्रिकिक फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले सहजै आफ्नो पन्जामा पारे ।
फ्रेन्ड्सका नाथनिल जुड ग्रासियाको २३ औं मिनेटको हेडर बलले पोस्टको दिशा लिन सकेन ।
थ्री स्टारका संजोक राईले २५ औं मिनेटमा पेनाल्टी एरियाको एजतर्फबाट प्रहार गरेको ग्रास बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
खेलको ३४ औं मिनेटमा फ्रेन्ड्सका ग्रासियाको प्रहार क्रसबार भन्दा केहि माथिबाट बाहिरिएको थियो ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
फ्रेन्ड्स आज पहिलो जितको खोजीमा हुनेछ ।
फ्रेन्ड्स २ खेलमा १ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
थ्री स्टार दोस्रो जितको खोजीमा रहनेछ ।
थ्री स्टार २ खेलमा ३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।