काठमाडौं । वर्ष ०७६ को लिगमा फ्रेन्ड्सले एउटा गज्जबको नतिजा निकालेको थियो र यो थियो, थ्री स्टारलाई हराउनु ।
यी दुई टिमबीचको माथिल्लो डिभिजनमा प्रतिद्वन्द्वीता निकै पुरानो छ । हामीसँग धेरै पुराना खेलका अभिलेख त छैनन्, तर ०४६ सालयता हामी नतिजाबारे ठोस रूपमा भन्न सक्छौं । त्यसै आधारमा टिकेर भन्दा ०४६ यता ललितपुरका यी दुई टिमबीच १८ खेल भए, त्यो पनि ३२ वर्षको अन्तरमा ।
यसमध्ये फ्रेन्ड्स विजयी भएको खालि ०७६ सालमै मात्र हो । यिनै दुई टिम एक अर्को ललितपुर डर्बीमा बिहीबार भेट हुनेछ, सहिद स्मारक लिग ए डिभिजन ०७८ को बहानाामा । फ्रेन्ड्सले त्यो वर्ष छैटौं चरणमा थ्री स्टारमाथि जित निकालेको थियो र स्कोर थियो, १–० । त्यसमा विदेशी खेलाडी वान्गर डे कार्मोले १३ औं मिनेटमा गोल गरेका थिए ।
नत्र ०४६ देखि ०७५ सालबीचका लिगमा थ्री स्टार १७ खेलमा १५ पल्ट विजयी रह्यो, दुई खेल भने बराबरीमा टुंगेको थियो । अहिले तत्काल भने च्यासलविरुद्धको पहिलो खेल जितेर थ्री स्टारले सुखद सुरुआत त लियो, त लगतै दोस्रो खेलमा भने सातदोबाटोसँग पराजित रहयो । त्यसैले थ्री स्टारको तीन अंक छ ।
फ्रेन्ड्स भने एकै अंकमा सीमित छ र एक प्रकारले खराब लयमा छ । सातदोबाटोविरुद्धको आफ्नो पहिलो खेल गोलरहित बराबरी खेलेको फ्रेन्ड्स संकटाविरुद्धको दोस्रो खेलमा भने पराजित रह्यो । अबको प्रश्न हो, के फ्रेन्ड्सले थ्री स्टारविरुद्ध इतिहास दोहराउने छ त ? त्यो भनेको वर्ष ०७६ को जित जस्तै ।