काठमाडौं । धेरैले के अनुमान गरेका छन् भने म्यानचेस्टर युनाइटेडको प्रशिक्षककमा राल्फ रङनिक आएपछि टिममा क्रिस्टियानो रोनाल्डोको स्थान असुरक्षित हुनेछ ।
रङनिक निकै तीव्र गतिमा खेलाउन रूचाउने प्रशिक्षक हुन् । डर हो, कतै निकै आक्रामक भएर खेल्दा उनको रणनीतिमा रोनाल्डो ठीक नहुने त होइन् ?
रोनाल्डो अहिलेसम्म पनि उत्तिकै राम्रा खेलाडी भए पनि बढ्दो उमेरका कारण उनी निकै तीव्र गतिमा खेल्न भने असक्षम भइसकेका छन् । रोनाल्डोको उमेरले पनि ३६ वर्ष छोइसक्यो । कम्तीमा गतिको आधारमा उनी पहिलेको जस्तो खेलाडी कहाँ रहे र ?
अझ रङनिक खेलाडीलाई निकै परिश्रम पनि गराउने गर्छन् । उनका सामु खेलाडीले छल्ने अवसर नै हुन्न । हुन सक्छ, प्रशिक्षकको यो स्वभाविक सुपर स्टार रोनाल्डोलाई मन नपर्न पनि सक्छ ।

तर होइन्, रोनाल्डोको समर्थनमा उत्रेका छन्, अहिले माइकल क्यारिक । अहिले तत्कालका लागि क्यारिक नै क्लबका निमित्त प्रशिक्षक रहेका छन् । रङनिकले अहिलेसम्म पनि इंग्ल्यान्डमा वर्क परमित पाएका छैनन्, त्यसैले बिहीबार आर्सनलविरुद्धको खेलमा पनि क्यारिकले नै टिम सम्हाल्ने छन् ।
क्यारिकले भनेका छन्, ‘यी त सबै हल्ला हुन् । रोनाल्डो सबै प्रकारको रणनीतिमा खेल्न माहिर छन् । मलाई विश्वास छ, उनले म्यानचेस्टरका लागि गोल गरिरहने छन् ।’
–एएफपीको सहयोगमा ।