लेवान्डोस्कीले पाउन सक्छन्, बालोन डी ओर

काठमाडौं । हिजै मात्र जति बेला लियोनल मेस्सीले सन् २०२१ को बालोन डी ओर अवार्ड पाए, केहीले मुख बिगारिहाले।
यिनीहरूको दाबी हो, यो अवार्ड खासमा मेस्सीले होइन्, रोबर्ट लेवान्डोस्कीले पो जित्नु पर्ने हो ।
अझ खासमा यो अवार्ड प्रदान गर्ने फ्रान्स फुटबलमाथि चर्को दबाब परेको छ र यसैबीच यही पत्रिकाबाट एउटा ठोस समाचार बाहिर आएको छ।
त्यस अनुसार यी बायर्न म्युनिकका पोलिस स्ट्राइकरले कम्तीमा सन् २०२० को अवार्ड पाउन सक्नेछन् ।
कोभिड महामारीको संक्रमणका कारण फ्रान्स फुटबलले त्यो वर्षको अवार्ड रद्द गरेको थियो । यसको चर्को न चर्को आलोचना पनि भएको थियो ।
सायद उसलाई पनि लागेको छ, यो निर्णय गतल थियो ।
त्यसैले नै होला, उसले यही वर्षदेखि सुरु भएको स्ट्राइकर अफ द इयर अवार्ड लेवान्डोस्कीलाई दिएको थियो । तर यो कुनै बालोन डी ओर त थिएन ।
फ्रान्स फुटबलका प्रधान सम्पादक पास्कल फेरेरले एक अन्तर्वार्ता दिंदै लेवनडोस्कीलाई बालोन डी ओर दिनेबारे छलफल हुन सक्ने बताएका छन् ।
फेरेरले भनेका छन्, ‘गत वर्ष यो अवार्ड दिइएको भए, लेवान्डोस्की नै विजयी हुने सम्भावना धेरै थियो ।’
पोहोरको सिजनमा लेवान्डोस्कीले गज्जब खेलेका थिए । उनले सबै प्रतियोगितामा गरेर ४८ गोल गरे, नौ गोलमा सहयोगी भूमिका पनि निभाए ।
बायर्नले त्यो सिजन बुंडेसलिगा, जर्मन सुपरकप, यूईएफए सुपरकप र फिफा क्लब विश्वकप जितेको थियो ।
–मार्काको सहयोगमा ।